यो वज्रपात सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री शाह
काठमाडौं, प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले जलवायु परिवर्तन विश्वव्यापी योगदान भएको बताएका हुन्।

प्रधानमन्त्री बालेनले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको धारणा राखे। उनले भने, ‘हामी त सचेत त हुनैपर्छ, सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ।
रसुवा बाढीले गरेको क्षति र उद्धारबारे जानकारी दिने क्रममा प्रधानमन्त्री शाहले भदौ १० गते बिहान ८ : ४५ बजेबाट सरकारले गरेका कामको फेहरिस्त सुनाए ।
प्रधानमन्त्री शाहले विपद् प्रभावित नागरिकहरूसँग सरकार निरन्तर रहने प्रतिबद्धता जनाए । उनले रसुवाको भोटेकोशी बाढीपछिको उद्धार लगायतका कार्यमा सरकार गम्भीर भएर लागेको भन्दै स्थानीय सरकारसँग समन्वय गर्दै विपद् प्रभावित नागरिकहरूसँग सरकार निरन्तर रहने प्रतिबद्धता जनाएका हुन् ।
उनले विपत्ति देशकै छातीमा बज्रपात भएकाले दृढ संकल्प र सहासका साथ विपत्तिमा लड्नुको विकल्प नरहेको उल्लेख गरे ।
प्रधानमन्त्री शाहले रसुवा बाढीपछि तत्कालै बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यहरू सुरु गरिएको जानकारी दिदै पुनर्निर्माणका लागि सरकारले ठोस योजनाका साथ काम गरिरहेको जानकारी दिए।
विपद्को समयमा सबै राजनीतिक दल र नागरिकहरूलाई एकजुट भएर सामना गर्न उनले आह्वान गरे ।
प्रधानमन्त्री शाहले पहिचान नखुलेका शवहरूलाई कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरी डीएनए नमुना सुरक्षित राखेर अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गरिएको र डीएनए परीक्षण मिलेपछि परिवारलाई हस्तान्तरण गरिने बताए ।
पृथ्वी राजमार्गको गल्छी, बैरेनी, जरिखेत, पोखरे, मुङ्गे र गलौंदी खण्डमा लेदो पन्छाएर यातायात सुचारु गरिएको र मुग्लिन–नारायणगढ सडकको कृष्णभीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका ३१ वटा मोटररेबल पुल बगेको/क्षतिग्रस्त भएकोमा २ स्थानमा बेली ब्रिज प्रक्रिया सुरु भएको तथा गल्छी–देविघाट, तादी–देविघाट र बेत्रावतीमा बेली ब्रिज राख्ने काम अघि बढेको छ भने थप २० स्थानमा सम्भाव्यता अध्ययन भइरहेको धारणा राखे ।

