कञ्चनलाई हटाउने निर्णयको पक्षमा १२ जवस मोर्चा, असोज ५ को सम्मेलनमा जुट्न आह्वान

काठमाडौं । नेकपा (बहुमत) का धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णयप्रति पार्टीसम्बद्ध १२ वटा जनवर्गीय संगठन तथा मोर्चाले ऐक्यबद्धता जनाएका छन् ।

भदौ १५ गते जारी संयुक्त प्रेस वक्तव्यमा उनीहरूले कञ्चनले स्वेच्छाचारी रूपमा राष्ट्रिय सम्मेलन एकल निर्णयबाट स्थगित गरेको तथा फरक मत राख्ने पार्टी नेताहरूमाथि निरन्तर तथाकथित कारबाहीको ‘आतंक’ सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।

नेकपा (बहुमत) को विशेष केन्द्रीय समिति बैठकले कञ्चनलाई अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउँदै अध्यक्ष मण्डलको अध्यक्षमा पार्टी प्रवक्ता उदयबहादुर चलाउने ‘दिपक’लाई चयन गरेको थियो । साथै, आगामी असोज ५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो ।

१२ जवस/मोर्चाले उक्त निर्णयप्रति ऐक्यबद्धता जनाउँदै असोज ५ गते निर्धारित समयमै राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णयको समर्थन गरेका छन् ।

संयुक्त वक्तव्यमा कञ्चन पार्टीभित्र लामो समयदेखि अल्पमतमा रहँदै आएको दाबी गर्दै उनका गतिविधि राष्ट्रिय सम्मेलन भाँड्ने उद्देश्यमा केन्द्रित रहेको आरोप लगाइएको छ ।

वक्तव्यमा कोहलपुरमा बसेको पार्टी केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकमा पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरी अगाडि बढ्ने प्रस्ताव खारेज भएसँगै कञ्चनको ‘संगठनात्मक अराजकता र अनैतिक हर्कत’ बढेको आरोप लगाइएको छ ।

‘विगत लामो समयदेखि उहाँका गैर–मार्क्सवादी तथा पार्टी अनुशासन उल्लंघनका गतिविधिका कारण क. धर्मेन्द्र बास्तोला निरन्तर पार्टीभित्र अल्पमतमा रहँदै आएको कुरा स्पष्ट छ,’ वक्तव्यमा भनिएको छ ।

जवस तथा मोर्चाहरूले कञ्चनले पटकपटक पार्टी विभाजनको प्रयास गरेको आरोपसमेत लगाएका छन् । पार्टीले उनलाई रूपान्तरणको प्रक्रियामा लैजान गरेका प्रयास सफल हुन नसकेको उनीहरूको दाबी छ ।

राष्ट्रिय सम्मेलनका लागि प्रस्तुत गरिएको फरक दस्तावेजलाई अस्वीकार गर्दै कञ्चन सैद्धान्तिक तथा वैचारिक बहसबाट पन्छिएको र पटकपटक राष्ट्रिय सम्मेलन स्थगित गरेको आरोपसमेत उनीहरूले लगाएका छन् ।

‘सैद्धान्तिक तथा वैचारिक बहसबाट पन्छिएर पटकपटक राष्ट्रिय सम्मेलन स्थगित गरेर राष्ट्रिय सम्मेलनबाट भागेका क. धर्मेन्द्र बास्तोलाको भ्रममा नपर्न’ सम्पूर्ण पार्टी सदस्य, पत्रकार, शुभचिन्तक तथा समर्थकलाई उनीहरूले अपिल गरेका छन् ।

यसअघि कञ्चनले भोटेकोशीमा आएको बाढीबाट उत्पन्न विपत्तिलाई कारण देखाउँदै असोज ५ गतेका लागि तय गरिएको राष्ट्रिय सम्मेलन स्थगित गर्ने घोषणा गरेका थिए । तर, विशेष केन्द्रीय समिति बैठकले असोज ५ गते नै काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

संयुक्त वक्तव्यमा अखिल नेपाल किसान महासंघका संयोजक गुणराज लोहनी ‘प्रविर’, अखिल नेपाल जनसाँस्कृतिक महासंघका संयोजक रोजन रखाल, अखिल नेपाल महिला संगठनकी संयोजक अञ्जना तामाङ, अखिल (क्रान्तिकारी) का संयोजक विरेन्द्र शाह, कम्युनिष्ट युवा संगठन नेपालका संयोजक झलक विश्वकर्मा, अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनका संयोजक लोकेन्द्र सार्की, प्रगतिशील खेलकुद महासंघ नेपालका संयोजक विवेक दाहाल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका कार्यकारी सदस्य दिनेश घिमिरे, जनक्रान्तिका घाइते तथा अपाङ्ग संगठन नेपालका संयोजक शिव गौतम, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संयोजक सुन्तली तामाङ, राई दनुवार राष्ट्रिय मुक्ति मोर्चा नेपालका संयोजक कुमार राई र माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालका संयोजक भक्त माझीले हस्ताक्षर गरेका छन् ।

उनीहरूले असोज ५ गते हुने राष्ट्रिय सम्मेलन सफल बनाउन सम्पूर्ण पार्टीपंक्ति, शुभचिन्तक तथा समर्थकलाई जुट्न आह्वान गरेका छन् ।