कञ्चन अध्यक्ष मण्डलको अध्यक्षबाट बर्खास्त, दिपक चलाउनेलाई जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई अध्यक्ष मण्डलको अध्यक्ष सहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको घोषणा गरेको छ ।

भदौ १५ गते बसेको पार्टीको विशेष भर्चुअल केन्द्रीय समिति बैठकले कञ्चनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । पार्टीभित्र लामो समयदेखि देखिँदै आएको वैचारिक तथा सांगठनिक समस्याबारे छलफल गर्न बैठक बोलाइएको र सोही बैठकले कञ्चनलाई हटाउने निर्णय गरेको पार्टीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

पार्टीले कञ्चनमाथि संगठनमा ‘प्राधिकारवादी व्यक्तिवाद’, व्यवहारमा षड्यन्त्र, शंका र अपारदर्शिता देखिएको आरोप लगाएको छ । यस्ता गतिविधिले पार्टीमा गुटबन्दी, अराजकता र अपारदर्शितालाई प्रश्रय दिएको उसको दाबी छ ।

वक्तव्यमा कञ्चनले आफ्नो अनुकूलता नदेखिएपछि पटक–पटक एकपक्षीय रूपमा राष्ट्रिय सम्मेलन रोक्दै आएको आरोप लगाइएको छ । २०८२ कात्तिक २८ देखि मंसिर २ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले २०८३ वैशाख १८ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरे पनि उक्त सम्मेलन स्थगित भएको पार्टीको भनाइ छ ।

त्यसपछि २०८३ साउन १४, १५ र १६ गते पोखरामा बसेको केन्द्रीय समिति बैठकले असोज ५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो । सोही बैठकले कञ्चनलाई महासचिवबाट हटाउँदै अध्यक्ष मण्डल प्रणालीमा रूपान्तरण गरेको वक्तव्यमा उल्लेख छ ।

तर, त्यसपछि पनि कञ्चनले अध्यक्ष मण्डलको संगठनात्मक विधिविपरीत एकल वक्तव्य जारी गर्ने तथा राष्ट्रिय सम्मेलनको पक्षमा रहेका जिम्मेवार नेताहरूमाथि कारबाहीको परिपत्र जारी गर्ने गतिविधि जारी राखेको पार्टीको आरोप छ ।

पार्टीले कञ्चनमा लामो समयदेखि ‘आदर्शवादी द्वन्द्ववाद’ तथा गैरमार्क्सवादी प्रवृत्ति देखिँदै आएको आरोपसमेत लगाएको छ । उनका गतिविधिका कारण पार्टीमा गुटबन्दी र अराजकता बढेको भन्दै विशेष बैठकबाट उनलाई जिम्मेवारीबाट हटाइएको जनाएको छ ।

दिपक बने अध्यक्ष मण्डलको अध्यक्ष

कञ्चनलाई हटाएपछि अध्यक्ष मण्डलको अध्यक्षमा पार्टी प्रवक्ता तथा अध्यक्ष मण्डलका सदस्य उदयबहादुर चलाउने ‘दिपक’लाई चयन गरिएको छ ।

अध्यक्ष मण्डलमा दिपकसँगै कृष्ण धमाला ‘गम्भीर’, गुणराज लोहनी ‘प्रविर’, डिडी पाण्डे ‘प्रतीक’ र लालबहादुर बिसी ‘शार्दुल’ सदस्य रहेका छन् ।
यसअघि कञ्चनले दिपकमाथि समेत कारबाही तथा जिम्मेवारीमुक्तसम्बन्धी वक्तव्य जारी गरेका थिए । त्यसको केही समयपछि दिपकलाई नै अध्यक्ष मण्डलको अध्यक्षमा चयन गरिएको हो ।

असोज ५ मै राष्ट्रिय सम्मेलन

कञ्चनले असोज ५ गतेका लागि तय गरिएको राष्ट्रिय सम्मेलन स्थगित गर्ने घोषणा गरे पनि विशेष केन्द्रीय समिति बैठकले भने सम्मेलन तोकिएकै मिति असोज ५ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

पार्टीभित्र सम्मेलन स्थगनलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो । कञ्चन पक्षले सम्मेलन स्थगित गरेको घोषणा गरेपछि अध्यक्ष मण्डलका बहुमत सदस्यले उक्त निर्णय अस्वीकार गर्दै असोज ५ गते नै सम्मेलन गर्ने बताउँदै आएका थिए ।

कञ्चनलाई अध्यक्ष मण्डलको अध्यक्षबाट हटाएर दिपकलाई जिम्मेवारी दिइएसँगै पार्टीभित्रको शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ ।

यसैबीच, भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि कृष्ण धमला ‘गम्भीर’को नेतृत्वमा बाढीपीडित उद्धार तथा राहत समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

यस्तो छ वक्तव्य :