आफ्नै पार्टीमा अल्पमतमा बास्तोला, तेस्रोपटक राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौं । नेकपा (बहुमत) का अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आगामी असोज ५ गतेका लागि तय गरिएको राष्ट्रिय सम्मेलन तेस्रोपटक स्थगित गर्ने घोषणा गरेका छन् । रसुवाको भोटेकोशी, बेत्रावती–त्रिशूली नदीमा आएको बाढीबाट उत्पन्न विपत्तिलाई कारण देखाउँदै कञ्चनले सम्मेलन स्थगित गरेका हुन् ।

भदौ १४ गते जारी गरिएको प्रेस वक्तव्यमा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा सहयोगका काममा पार्टीका नेता–कार्यकर्तालाई परिचालन गर्नुपर्ने भएकाले सम्मेलन स्थगित गरिएको उल्लेख छ ।
तर, कञ्चनको निर्णयलाई लिएर पार्टीभित्रै विवाद चर्किएको छ । अध्यक्ष मण्डलका बहुमत सदस्यले कञ्चनलाई एकल रूपमा राष्ट्रिय सम्मेलन स्थगित गर्ने अधिकार नभएको दाबी गर्दै असोज ५ गते नै सम्मेलन सम्पन्न गर्ने अडान लिएका छन् ।

पार्टीका एक नेताका अनुसार बास्तोला अहिले पार्टीको केन्द्रीय समितिदेखि तल्लो तहसम्म अल्पमतमा छन् । ती नेताले केन्द्रीय समितिदेखि तल्लो तहसम्म करिब ९८ प्रतिशत सदस्य कञ्चनको विपक्षमा रहेको दाबी गरेका छन् । पार्टीभित्र बास्तोला र बहुमत पक्षबीचको विवाद पछिल्लो समय नेतामाथिको कारबाही सम्म पुगेको छ । कञ्चनले केही दिन अघिमात्र पार्टीका प्रभावशाली नेता तथा अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनी ‘प्रविर’लाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा गरेका थिए । तर, अध्यक्ष मण्डलका पाँच सदस्यले उक्त निर्णय खारेज भएको घोषणा गरेका छन् ।

त्यसपछि, आजै अध्यक्ष मण्डलका अर्का सदस्य एवं पार्टी प्रवक्ता समेत रहेका पार्टीका बहादुर चलाउने ‘दिपक’लाई समेत जिम्मेवारीबाट हटाइएको वक्तव्य कञ्चनले जारी गरेका छन् ।

बहुमत पक्षले कञ्चनले आफ्नो राजनीतिक तथा सांगठनिक कमजोरी ढाकछोप गर्न एकपछि अर्को नेतालाई कारबाही गर्ने र सम्मेलन स्थगित गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।
‘पार्टीमा अल्पमतमा परेपछि सम्मेलन सामना गर्ने आँट नभएर नेताहरूलाई भटाभट कारबाहीको नाटक गर्दै सम्मेलनबाट भाग्न खोजिएको छ । बाढीलाई बहाना बनाएर सम्मेलन स्थगित गर्नु त्यसैको निरन्तरता हो,’ ती नेताले दाबी गरे ।

अध्यक्ष मण्डलका सदस्य उदयबहादुर चलाउने ‘दिपक’, कृष्ण धमाला ‘गम्भीर’, गुणराज लोहनी ‘प्रविर’, लालबहादुर बिसी ‘शार्दुल’ र डिडी पाण्डे ‘प्रतीक’ले कञ्चनका पछिल्ला निर्णयहरू पार्टीको न्यूनतम संगठनात्मक विधि, मूल्य–मान्यता र जनवादी केन्द्रीयताको विपरीत भएको आरोप लगाएका छन् ।

नेकपा (बहुमत) को राष्ट्रिय सम्मेलन यसअघि दुईपटक स्थगित भइसकेको थियो । २०८३ वैशाख १८ गतेका लागि तय गरिएको सम्मेलन स्थगित भएपछि साउन १५ गते नयाँ मिति तोकिएको थियो । उक्त मिति पनि स्थगित गरिएको थियो । त्यसपछि असोज ५ गते सम्मेलन गर्ने निर्णय भएकोमा अहिले पुनः उक्त मिति स्थगित गर्ने घोषणा गरिएको हो ।

कञ्चनले सम्मेलनको नयाँ मिति केन्द्रीय समिति बैठकबाट निर्धारण गरिने बताएका छन् । तर, अध्यक्ष मण्डलका बहुमत सदस्यले भने असोज ५ गते नै राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने दाबी गरेका छन् ।

यससँगै नेकपा (बहुमत) भित्र कञ्चन र अध्यक्ष मण्डलका बहुमत सदस्यबीचको विवाद थप पेचिलो बनेको छ । एकातिर कञ्चनले सम्मेलन स्थगित भएको घोषणा गरेका छन् भने अर्कोतिर बहुमत पक्षले उक्त निर्णय अस्वीकार गर्दै तोकिएकै मितिमा सम्मेलन गर्ने तयारी अघि बढाउने जनाएको छ ।