चीनतिर थुनिएको ताल फुटेपछि रसुवामा उच्च सतर्कता
काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पहिरोका कारण थुनिएको विशाल ताल फुटेको सूचना आएपछि रसुवामा उच्च सतर्कता अपनाइएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले ताल फुटेको जानकारी गराएको हो। सूचना प्राप्त भएपछि नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै प्रशासनले सर्कुलर जारी गरेको छ।
चीनको तिब्बत स्वायत्त क्षेत्रको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण ठूलो ताल बनेको थियो। उक्त तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भएको बताइएको थियो।
थप पानी जम्मा हुने क्रम जारी रहेकाले ताल फुट्ने जोखिमलाई ध्यानमा राखेर चिनियाँ जलस्रोत मन्त्रालयले अवस्थाको निगरानी गरिरहेको थियो। ताल फुटेपछि त्यसबाट निस्किएको पानीले नेपालतर्फको नदी प्रणालीमा समेत प्रभाव पार्न सक्ने जोखिम देखिएको छ।
छोचेन खोला र पुरेपु नदी तिब्बतबाट बग्दै नेपाल प्रवेश गरेपछि भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा मिसिन्छन्। त्यसैले रसुवाको भोटेकोशी तथा त्रिशूली आसपासका नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाइएको हो।
यसैबीच ताल फुटेपछि चीनले तिब्बतमा जारी खोज तथा उद्धार अभियानसमेत स्थगित गरेको बताइएको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार उद्धार टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर टाढा सुरक्षित स्थानमा हट्न निर्देशन दिइएको छ।
पहिरोपछि थुप्रिएको ठूलो परिमाणको भग्नावशेष र लेदोका कारण बनेको ताल भरिएपछि पानी उद्धार टोली परिचालन भइरहेको क्षेत्रतर्फ बग्न थालेको चिनियाँ पक्षले जनाएको छ।
नेपालतर्फ सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीमा नजान, सुरक्षित स्थानमा रहन र प्रशासनले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।

