खामेनीको अन्त्येष्टिअघि सार्वजनिक भए आईआरजीसी प्रमुख वाहिदी
दुबई । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शनिबारदेखि सुरु हुने अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)का प्रमुख जनरल अहमद वाहिदी सार्वजनिक भएका छन्।

इरानी सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर तथा भिडियोमा वाहिदी अन्त्येष्टिको तयारीसम्बन्धी बैठकमा सहभागी भएको र तेहरानस्थित खामेनीको पूर्व निवास नजिक आयोजित श्रद्धाञ्जली कार्यक्रममा कफिनछेउमा बसेको देखिएको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार ८६ वर्षीय खामेनीको सम्मानमा बिहीबार राति तेहरानको मध्य क्षेत्रमा शोकसभा आयोजना गरिएको थियो। श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले कफिनमा स्कार्फ तथा अन्य सामग्री अर्पण गरेका थिए, जुन इरानमा सम्मान व्यक्त गर्ने परम्परागत अभ्यास मानिन्छ।
युद्ध सुरु हुनुभन्दा केही साताअघि फेब्रुअरी ८ पछि वाहिदी सार्वजनिक रूपमा नदेखिएकाले उनको पुनः उपस्थितिलाई राजनीतिक रूपमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार अमेरिकासँग हुन सक्ने सम्भावित वार्ता तथा नयाँ नेतृत्वको रणनीति निर्माणमा वाहिदीको प्रभाव रहने अपेक्षा गरिएको छ।
उनी नयाँ सर्वोच्च नेता अयातुल्ला मोजताबा खामेनीसँग प्रत्यक्ष सम्पर्कमा रहने सीमित व्यक्तिमध्ये एक मानिन्छन्। इरानका अनुसार फेब्रुअरी २८ मा भएको इजरायली आक्रमणमा मोजताबा खामेनी घाइते भएका थिए भने सोही आक्रमणमा अयातुल्ला अली खामेनीको मृत्यु भएको थियो।
सरकारी भिडियोमा तेहरानस्थित हुसिनियाह परिसरमा राखिएको खामेनीको कफिन रातो ट्युलिप फूलले सजाइएको देखिन्छ। कफिनमाथि शिया समुदायमा विशेष धार्मिक महत्त्व राख्ने ‘या हुसेन’ लेखिएको रातो झण्डा ओढाइएको थियो, जसलाई अन्यायपूर्ण रूपमा मारिएका व्यक्तिको रगत र प्रतिशोधको प्रतीक मानिन्छ।
इरानले शनिबारदेखि दिनभर चल्ने अन्त्येष्टि कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। खामेनीको पार्थिव शरीर इरानका विभिन्न सहरका साथै छिमेकी इराकका केही स्थानमा पनि श्रद्धाञ्जलीका लागि लगिने कार्यक्रम तय गरिएको छ।
अन्त्येष्टि तेहरानको ग्रान्ड मोसल्लाबाट सुरु हुनेछ। शोक समारोहलाई लक्षित गर्दै राजधानी तेहरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सडक यातायात र दैनिक जनजीवन प्रभावित हुने अपेक्षा गरिएको छ।

