काठमाडौँ पुगेर देउवाले भने राजाले त सकेनन्, अरूले सक्लान् यहाँ ?
काठमाडौँ, नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानूनी उल्झनहरूबाट आफू विचलित नहुने बताएका छन्।

पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका देउवाले आफ्नो निवास चुनदेवीमा पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरेका छन्। उनले आफूविरुद्ध भएका विभिन्न उजुरीमा अदालत जान आफू नडराउने बताए ।
देउवाले मुलुकमा गणतन्त्र आफूले चाहेर मात्र नभई जनताले चुनेको संविधानसभाले ल्याएको बताए। यस क्रममा उनले लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने दाबी गरे। ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’
गणतन्त्रको रक्षाका लागि जनता नै सचेत रहेको देउवाले बतााए। ‘मैले चाहेर आउने र मैले चाहेर जाने कुरा होइन। यो देशको सबैभन्दा ठूलो कुरा हो। यो देशको जनता नेपालको मालिक हो। यो मालिकले जे भन्छ त्यही हुन्छ’, उनले भने।

