अध्यक्षमण्डल प्रणालीमा गयो नेकपा (बहुमत)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले आफ्नो संगठनात्मक संरचनामा परिवर्तन गर्दै महासचिव प्रणालीलाई खारेज गरी अध्यक्षमण्डल प्रणाली लागू गर्ने निर्णय गरेको छ। पार्टीले पोखरामा सम्पन्न छैटौँ केन्द्रीय समिति बैठकबाट उक्त निर्णय गरेको जनाएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षमण्डलका सदस्य गुणराज लोहनीले साउन १४ देखि १६ गतेसम्म सम्पन्न केन्द्रीय समिति बैठकले महासचिव प्रणालीको सट्टा अध्यक्षमण्डल प्रणाली अपनाउने निर्णय गरेको जानकारी दिए। उनका अनुसार नयाँ संरचनामार्फत सामूहिक नेतृत्वलाई संस्थागत गर्दै पार्टीलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ ।
पार्टीले आगामी असोज ५ देखि १० गतेसम्म राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णयसमेत गरेको छ। सम्मेलनमार्फत पार्टीको राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र आगामी संघर्षका कार्यक्रमलाई थप स्पष्ट बनाइने जनाइएको छ ।
पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले वर्तमान सरकार जनविरोधी र राष्ट्रहितविपरीत गतिविधिमा लागेको आरोप लगाए । उनले सुकुम्बासी बस्तीमा डोजर चलाउने, विभिन्न राजनीतिक नियुक्ति, प्रधानमन्त्री बालेन्द्र साहका अभिव्यक्ति तथा सरकारका अन्य गतिविधिले जनअपेक्षाविपरीत काम गरेको दाबी गरे ।
उनले सरकारविरुद्ध जनसंघर्षलाई सशक्त बनाउने निर्णय भएको बताउँदै किसान, मजदुर, श्रमिक, युवा र विद्यार्थीका मुद्दालाई केन्द्रमा राखेर आन्दोलन अघि बढाइने बताए। साथै विभिन्न क्रान्तिकारी शक्ति, संगठन र व्यक्तित्वसँग एकता, ध्रुवीकरण तथा कार्यगत एकतालाई तीव्र बनाउने नीति पनि पार्टीले लिएको जानकारी दिइयो ।
पार्टीले सरकारका नीतिहरू राष्ट्रिय स्वाधीनता र जनहितविपरीत रहेको आरोप लगाउँदै त्यसविरुद्ध राजनीतिक संघर्षलाई व्यापक बनाउने तयारी गरेको जनाएको छ ।
यस्तो छ निर्णय :


