प्रहरीले समात्यो बहुमतका ब्युरो इञ्चार्ज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा ब्युरो नम्बर–५ का इञ्चार्ज तिलकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

पार्टीका अनुसार उनलाई साउन २१ गते साँझ दाङस्थित आफ्नै निवासबाट पक्राउ गरिएको हो। पार्टीले पक्राउका क्रममा प्रहरीले कुनै स्पष्ट कारण नखुलाएको र पक्राउ पुर्जीसमेत नदेखाएको दाबी गरेको छ ।

घटनाप्रति गम्भीर आपत्ति जनाउँदै नेकपा (बहुमत) का प्रवक्ता दीपकले विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा तिलकको गिरफ्तारीलाई नागरिकको मौलिक अधिकार र संवैधानिक व्यवस्थाविपरीत भएको भन्दै त्यसको भर्त्सना गरिएको छ ।

पार्टीले आफू वैज्ञानिक समाजवाद स्थापनाको उद्देश्यका साथ शान्तिपूर्ण राजनीतिक गतिविधि, संगठन विस्तार र जनसंघर्षमा सक्रिय रहेको उल्लेख गर्दै यस्ता गतिविधिलाई रोक्न राज्यले दमनको नीति अपनाएको आरोप लगाएको छ ।

विज्ञप्तिमा वर्तमान सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने तथा अन्य जनविरोधी काम गर्दै आएको आरोपसमेत लगाइएको छ ।

नेकपा (बहुमत) ले नेता तिलकलाई तत्काल ससम्मान रिहा गर्न माग गर्दै माग पूरा नभए सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । साथै गिरफ्तारीको विरोधमा आवाज उठाउन नागरिक समाज तथा देशभक्त शक्तिलाई पनि अपिल गरेको छ ।

यस्तो छ वक्तव्य