मुग्लिन–नारायणगढ सडकमा फेरि अवरोध, जलविरेमा तीन सवारी ठोक्किए
प्रकासित मिति : २०८३ श्रावण ३, आईतवार ०९:१६
प्रकासित समय : ०९:१६
चितवन । अविरल वर्षाका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड आइतबार बिहान सञ्चालनमा आएको केहीबेरमै जलविरेमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सडक पुनः अवरुद्ध भएको छ।

जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेदेखि सुरक्षा संवेदनशीलता तथा बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आइतबार बिहान ७:१५ बजे सडक खुला गरिएलगत्तै जलविरेमा भएको दुर्घटनाले आवागमन फेरि प्रभावित बनेको हो।
दुर्घटनापछि सडकमा सवारीसाधनको चाप बढेको छ। स्थानीय प्रशासन र ट्राफिक प्रहरीले चालकलाई लेन अनुशासन पालना गर्न, तीव्र गतिमा ओभरटेक नगर्न तथा सुरक्षित गतिमा सवारी चलाउन आग्रह गरेका छन्।
दुर्घटनाग्रस्त सवारीसाधन हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

