दुर्गा प्रसाईलाई प्रहरीले रनवेबाटै घर पुर्याएपछि…
काठमाडौं । झापाबाट काठमाडौं आएका दुर्गा प्रसाईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि उनी निर्धारित समयमा पत्रकारहरूमाझ उपस्थित भएनन्।

प्रसाई सचिवालयले कुसे न्युजलाई दिएको जानकारी अनुसार, प्रसाईलाई विमानस्थलको रनवे क्षेत्रबाट प्रहरीले घर पुर्याएको दाबी गरिएको छ। त्यसका कारण विमानस्थलमा तय गरिएको पत्रकार सम्मेलन हुन नसकेको सचिवालयको भनाइ छ ।
सचिवालयका अनुसार, दुर्गा प्रसाईले अब आज दिउँसो ३ बजे आफ्नै निवासबाट पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरेका छन्। यसका लागि सञ्चारकर्मीहरूलाई प्रसाईको निवासमा उपस्थित हुन अनुरोध गरिएको छ ।
यद्यपि, प्रसाईलाई विमानस्थलबाट प्रहरीले घर पुर्याएको भन्ने दाबीबारे नेपाल प्रहरी वा अन्य सम्बन्धित सरकारी निकायबाट कुनै आधिकारिक पुष्टि वा प्रतिक्रिया सार्वजनिक भएको छैन ।

