कर्णाली दुर्घटना : चालक तुलाराम सुवेदीको शव नौ दिनपछि फेला

काठमाडौं — दैलेखको कर्णाली नदीमा गाडी खसेर भएको दुर्घटनामा बेपत्ता भएका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि फेला परेको छ।

प्रहरीका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–२, जमगडा स्थित कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको शवको सनाखत गर्दा उनी सुर्खेतको पञ्चपुरी नगरपालिका–माझिगाउँ निवासी चालक तुलाराम सुवेदी रहेको पुष्टि भएको हो।

यसअघि सोही दुर्घटनामा परेका कालिकोटको पचालझरना गाउँपालिका–९ का मेखे तिरुवाको शव फेला परिसकेको थियो।

असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख १०५५ नम्बरको मालवाहक गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, साङगेतडास्थित कर्णाली राजमार्गबाट अनियन्त्रित भई कर्णाली नदीमा खसेको थियो।

दुर्घटनाका बेला गाडीमा चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, कालिकोटको रास्कोट नगरपालिका–२ का सिर्जना खड्का तथा मेखे तिरुवा सवार थिए। मेखे तिरुवाको शव यसअघि फेला परे पनि रामप्रसाद सुवेदी र सिर्जना खड्का अझै बेपत्ता रहेका छन् ।

प्रहरीले बेपत्ता दुवै जनाको खोजी कार्य जारी रहेको जनाएको छ।