संसदमा वर्षमानले सोधे– के गरिब र सुकुमवासीले बाँच्न पाउँदैनन् ?
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ मागेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले उक्त घटनाले आफूलाई स्तब्ध बनाएको बताए। उनले इलामका युवा कृषक प्रेम आचार्यले १० माघ ०७९ मा नयाँ बानेश्वरमा आत्मदाह गर्दा हालका प्रधानमन्त्री एवं तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा गरेको पोस्ट पढेर सुनाए।
‘गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ। उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्छु। यो सन्दर्भमा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको सम्माननीय प्रधानमन्त्रीज्यूको २६ जनवरी ०२३ को एउटा स्टाटस छोटकरीमा उद्धृत गर्न चाहन्छु,’ पुनले भने।
त्यसपछि उनले बालेनको स्टाटस उद्धृत गर्दै भने, ‘एकजना नागरिक आफूले देखेको प्रगतिका लागि सक्दो कर्म गर्छन्। एकजना नागरिक आफूले चिनेका वा जानेका सबैलाई आफ्नो विगत र भविष्य वर्णन गर्दै आत्महत्या गर्न लागेको खबर गर्छन्। एकजना नागरिक संसद् भवनअगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण, धेरै संकेतहरू होलान्। तर, सबैभन्दा ठुलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो।’
पुनले गणेश नेपालीको आत्मदाह प्रकरणबारे पनि प्रधानमन्त्री बालेनको सोही धारणा कायम छ वा परिवर्तन भएको छ भन्ने प्रश्न गरे। उनले गणेश नेपालीको आत्मदाह राज्यको असफलता हो कि होइन भन्ने प्रश्न उठाए।
‘प्रधानमन्त्रीज्यू हुनुहुन्छ। नयाँ विश्वासका साथ जनमत लिएर आउनुभएको छ। के यो राज्यको असफलता हो ? या गरिब, दुःखी र सुकुमवासीहरू संघीय राजधानी वा देशभरि बाँच्न पाउँदैनन् ? उनीहरूले गरिखान पाउँदैनन् भन्ने संकेत हो ? सरकारको यसमा ध्यान जाओस् र यसको जवाफ चाहन्छु। यही दृष्टिकोण आज पनि छ कि सत्तामा पुगेपछि बदलिएको हो ?’ उनले प्रश्न गरे।

