गाउँमै ‘डाक्टर’ बनेर उपचार, १५ वर्षपछि विभागको फन्दामा

बाँके । बाँकेको जानकी गाउँपालिकामा करिब १५ वर्षदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको औषधि पसलमा औषधि व्यवस्था विभागले छापा मारेर सञ्चालकलाई पक्राउ गरेको छ।

नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयले नरैनापुर, डुडुवा र जानकी गाउँपालिकाका सीमावर्ती क्षेत्रमा गरेको अनुगमनका क्रममा जानकी गाउँपालिका–१ जोगाउगाउँमा घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसल फेला पारेको हो।

अनुगमनका क्रममा औषधि बिक्रीसँगै बिरामीको उपचारसमेत गर्दै आएका ६३ वर्षीय पञ्चलाल भुजुवालाई विभाग र सुरक्षाकर्मीको संयुक्त टोलीले पक्राउ गरेको छ। औषधि व्यवस्था विभाग, नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहका अनुसार प्रारम्भिक अनुसन्धानबाट भुजुवासँग स्वास्थ्यसम्बन्धी कुनै मान्यताप्राप्त शैक्षिक योग्यता वा कानुनी अनुमति नरहेको खुलेको छ।

विभागका अनुसार भुजुवाले आफ्नै घरलाई औषधि पसलमा परिणत गरी लामो समयदेखि औषधि बिक्री गर्नुका साथै चिकित्सकीय योग्यता नहुँदा पनि बिरामीको स्वास्थ्य परीक्षण र उपचार गर्दै आएका थिए।

छापामार कारबाहीका क्रममा पसलबाट करिब ४० प्रकारका औषधि रहेका तीन कार्टुन बरामद गरिएको छ। बरामद गरिएका औषधिको गुणस्तर, म्याद र कानुनी स्रोतबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।

औषधि व्यवस्था विभागले पछिल्लो समय अवैध औषधि पसल तथा गैरकानुनी रूपमा उपचार गर्ने व्यक्तिविरुद्ध निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।

स्थानीयका अनुसार बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा अझै पनि बिरामीलाई सरकारी स्वास्थ्य संस्थामा लैजानुको सट्टा यस्ता अवैध औषधि पसलमा पुर्‍याउने प्रवृत्ति कायम छ। उपभोक्ता अधिकारकर्मीहरूले नियमित अनुगमन, कडा कानुनी कारबाही र ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सरकारसँग माग गरेका छन्। रासस