कर्णालीमा खसेको गाडीको खोजी कठिन, धमिलो पानीले बढायो चुनौती

दैलेख – दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी बिहीबार साँझसम्म पनि फेला पर्न सकेको छैन। वर्षासँगै नदीको बहाव बढ्नु र पानी अत्यधिक धमिलो भएका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

सुर्खेतबाट पुगेका सशस्त्र प्रहरी बलका ६ जना गोताखोरले दिनभर नदीमा खोजी गरे पनि गाडीको अवस्था पत्ता लगाउन सकेनन्। घटनास्थलमा खटिएका प्रहरीका अनुसार गाडी नदीभित्र पूर्ण रूपमा डुबेको आशंका गरिएको छ।

दुर्घटनास्थल नजिकैको भीरमा अचेत अवस्थामा फेला परेका करिब ३५ वर्षीय एक पुरुषलाई उपचारका लागि जिल्ला अस्पताल दुल्लु पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।

हालसम्म गाडीमा कति जना यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन। प्रारम्भिक विवरणअनुसार सुर्खेतबाट तीन जना यात्रुले टिकट काटेको खुले पनि बाटोबाट थप यात्रु चढेका हुन सक्ने भएकाले वास्तविक संख्या पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। चालक र सहचालकसहित कम्तीमा पाँच जना गाडीमा रहेको अनुमान गरिएको छ।

प्रहरीका अनुसार दुर्घटनास्थल अत्यन्तै जोखिमपूर्ण भीरमा पर्छ। भीरभरि गाडीका टुक्राटाक्री छरिएको अवस्थामा भेटिएकाले गाडी करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको अनुमान गरिएको छ।

क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी बिहीबार बिहान करिब ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।