दैलेखस्थित कर्णाली नदीमा खस्यो फोर्स गाडी

सुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी दैलेखस्थित कर्णाली नदीमा खस्दा चालकसहित १४ जनाको अवस्था अज्ञात भएको छ।

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ साङ्गेतडामा बिहीबार दिउँसो कर्णाली प्रदेश ०३–००१ ख १०५५ नम्बरको बुलबुले यातायातको फोर्स गाडी सडकबाट करिब ५०० मिटर तल कर्णाली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार दुर्घटनापछि गाडी नदीमा डुबेकाले तत्काल फेला पार्न सकिएको छैन। घटनास्थलमा प्रहरी टोली पुगेको छ भने उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ।

प्रहरीका अनुसार गाडीमा चालकसहित १४ जना सवार थिए। उनीहरूको अवस्था अहिलेसम्म खुल्न सकेको छैन। उद्धारका लागि तल्लो ढुंगेश्वर, पाल्तडा र राकम कर्णालीबाट नेपाल प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरी बलसँग पनि समन्वय भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोषसिंह राठौरले जानकारी दिएका छन्।

दुर्घटनास्थल वीरेन्द्रनगर–सुर्खेतबाट करिब ७५ किलोमिटर टाढा पर्छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण आउने क्रम जारी छ।