मुड्केचुलाले ल्यायो ४० करोड बढीको बजेट : स्वास्थ्य र शिक्षा प्राथमिकतामा
डोल्पा, हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाले आर्थिक वर्ष २०८३\८४ का लागि ४० करोड ४० लाख ४० हजार ४० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको सोमबार सम्पन्न १९औँ गाउँसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै उक्त बजेट सर्वसम्मत रूपमा पारित गरिएको हो ।

जिल्लाका अन्य स्थानीय तहहरूले असार १० गतेभित्र बजेट सार्वजनिक गरिसकेका भए पनि मुड्केचुलाले प्राविधिक कारणले सोमबार मात्रै बजेट प्रस्तुत गरेको पालिकाका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए ।
उनले बजेटले पूर्वाधार विकास, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको बताए ।
अध्यक्ष शाहीका अनुसार स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिँदै नागरिकको आधारभूत सेवा सहज बनाउने लक्ष्यसहित बजेट विनियोजन गरिएको छ।
‘हामी दोस्रो कार्यकालको अन्तिम वर्षमा छौँ। बजेट निर्माणमा कुनै पनि क्षेत्र वा बस्तीप्रति विभेद गरिएको छैन। आवश्यकताका आधारमा समान रूपमा बजेट विनियोजन गरेका छौँ,’ अध्यक्ष शाहीले भने।
गाउँपालिकाकी उपाध्यक्ष दुदा रोकायाले प्रस्तुत गरेको बजेट गाउँसभाले सर्वसम्मत रूपमा पारित गरेको हो। उपाध्यक्ष रोकायाले प्राविधिक कारणका कारण असार १० गते बजेट पेश गर्न नसकिएको र असार १५ गते गाउँसभामा पेश गरी पारित गरिएको जानकारी दिइन्।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका कामलाई तीव्रता दिनुका साथै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार क्षेत्रलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गर्ने जनाएको छ। यससँगै मुड्केचुला गाउँपालिकाले जिल्लामा रहेका ६ गाउँपालिका मध्य सबैभन्दा बढी बजेट ल्याउने स्थानीय तह समेत बनेको छ ।


