सांसदहरूको गैरहाजिरीप्रति सभामुख असन्तुष्ट

काठमाडौं — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल सांसदहरूको अभिमुखीकरण कार्यक्रममा पर्याप्त उपस्थिति नदेखिएपछि असन्तुष्ट बनेका छन्।

संघीय संसद् सचिवालयले सिंहदरबारमा आयोजना गरेको दुई दिने ‘सांसद अभिमुखीकरण’ कार्यक्रमको उद्घाटनका क्रममा सभामुख अर्यालले सांसदहरूको उपस्थितिमा कमी देखिएको भन्दै आपत्ति जनाए।

उनले सांसदहरूलाई समयपालना र जिम्मेवार व्यवहार अपनाउन आग्रह गर्दै जनताले उनीहरूको हरेक गतिविधिको सूक्ष्म मूल्यांकन गरिरहेको बताए।

सभामुख अर्यालले सांसदहरूलाई मोबाइलको अत्यधिक प्रयोग र आपसी कुराकानी (साइड-टक) बाट टाढा रहन पनि निर्देशन दिए। राज्यको स्रोत र समय खर्च गरेर सहभागी हुने भएकाले कार्यक्रमलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो।

उनले नयाँ सांसदहरूलाई संसदीय प्रक्रिया र कानुनी अभ्यासबारे अभ्यस्त बनाउन यस्ता अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।