२४ घण्टापछि उद्धार गरिएको डोल्पाको शवको पहिचान खुल्यो
डोल्पा — डोल्पामा खोलामा फेला परेको शव २४ घण्टापछि जोखिमपूर्ण उद्धार गरी निकालिएपछि मृतकको पहिचान खुलेको छ।

आइतबार बिहान स्थानीयवासीले खोलामा शव देखेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो। तर खोलाको गहिरो भाग, भौगोलिक जोखिम र तीव्र बहावका कारण आइतबार दिनभर प्रयास गर्दा पनि शव निकाल्न सकिएको थिएन।
सोमबार बिहान जिल्ला सुरक्षा समितिको उपस्थितिमा पुनः उद्धार अभियान सञ्चालन गरी शव सुरक्षित रूपमा बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
उद्धारपछि शव सुर्खेतको बराहताल गाउँपालिका–६ स्थायी घर भई हाल शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मोमा काम गर्दै आएका ३८ वर्षीय विष्णु विक (मंगले कामी) को भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी गत असार ६ गते रिग्मो क्षेत्रबाट बेपत्ता भएका थिए। शवको सनाखत उनकी पत्नीले गरेपछि पहिचान खुलेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

