बाल सदस्यता प्रकरणमा रास्वपामाथि छानबिनको माग

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा छानबिनको माग गरिएको छ।

नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै रास्वपाको उक्त अभ्यासमाथि प्रश्न उठाएका हुन्। उनले बालबालिकालाई राजनीतिक दलको सदस्यता दिनु संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मान्यताविपरीत भएको दाबी गरे।

सांसद तिमिल्सिनाले यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगसहित सम्बन्धित निकायले ध्यान दिनुपर्ने र आवश्यक छानबिन गर्नुपर्ने माग गरे।

रास्वपाको हालै चितवनमा सम्पन्न प्रथम महाधिवेशनमा प्रस्तुत प्रतिवेदनअनुसार पार्टीका कुल ५ लाख २३ हजार ४६५ सदस्यमध्ये ३५ हजार २५७ जना १८ वर्षमुनिका बालबालिका रहेको उल्लेख छ।

यस विषयमा रास्वपाले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।