पाकिस्तानी हवाई आक्रमणपछि तालिबानको आक्रोश, सर्वसाधारण मारिएको आरोप

काठमाडौं — अफगानिस्तान–पाकिस्तान सीमावर्ती क्षेत्रमा भएको हवाई आक्रमणपछि तालिबान सरकारले पाकिस्तानमाथि कडा आपत्ति जनाएको छ। तालिबानले उक्त आक्रमण सर्वसाधारण लक्षित भएको दाबी गर्दै महिला र बालबालिकासहित निर्दोष नागरिकको ज्यान गएको आरोप लगाएको छ।

पाकिस्तानले भने खैबर पख्तुनख्वा नजिकै आतंकवादी समूहविरुद्ध गरिएको कारबाहीमा २९ जना लडाकु मारिएको दाबी गरेको छ। पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारका अनुसार ‘जमात–उल–अहरार’ र ‘तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी)’ विरुद्ध स्थलगत तथा हवाई कारबाही गरिएको हो।

उनका अनुसार आतंकवादी गतिविधि नियन्त्रणका लागि गरिएको उक्त कारबाहीमा केही कमान्डरसमेत मारिएका छन्। पाकिस्तानले यो कदम आफ्नो राष्ट्रिय सुरक्षाका लागि आवश्यक रहेको जनाएको छ।

यता अफगानिस्तानको तालिबान सरकारले भने कुनार, पक्तिया र पक्तिका प्रान्तका विभिन्न जिल्लामा भएको आक्रमणमा सर्वसाधारणको ठूलो क्षति भएको दाबी गर्दै घटनाको कडा निन्दा गरेको छ।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले यसलाई ‘कायरतापूर्ण’ र अन्तर्राष्ट्रिय कानुनविपरीतको कार्य भन्दै कडा प्रतिक्रिया दिएका छन्। सीमा क्षेत्रमा लामो समयदेखि जारी तनावका बीच यो घटनाले दुई देशबीचको सम्बन्ध थप चिसिएको छ ।