प्रतिक्रियावादीलाई परास्त गरेर फेरि उठ्छौं : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै एमाले फेरि उठेर त्यस्ता शक्तिलाई परास्त गर्ने बताएका छन्।

मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफूहरूलाई कमजोर नठान्न आग्रह गरे। “हामी मरेका छैनौँ, फेरि उठ्छौँ र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौँ। धुलो टक्टक्याउँदै उठ्छौँ र अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौँ,” उनले भने।

ओलीले वर्तमान सरकारका गतिविधिप्रति पनि असन्तुष्टि व्यक्त गर्दै मुलुकमा प्रतिगमनको क्रम जारी रहेको आरोप लगाए। संसद् विघटनपछि भएको निर्वाचनको प्रसङ्ग उल्लेख गर्दै त्यसबेला आफूहरूले चुनाव रोक्न प्रस्ताव गरे पनि अन्य राजनीतिक दलहरूले त्यसलाई स्वीकार नगरेको उनको भनाइ थियो।

“हामीले यो चुनाव रोकौँ भनेका थियौँ, तर सबैले एमालेका लागि भिर र आफूहरूका लागि राजमार्ग ठाने,” उनले भने, “त्यो चुनाव वामपन्थी र लोकतान्त्रिक शक्तिका लागि थिएन। त्यसको परिणाम पहिले नै तय भइसकेको थियो।”

अध्यक्ष ओलीले एमालेलाई समाप्त भएको ठान्नेहरू गलत सावित हुने दाबी गर्दै पार्टी जनताको साथमा रहेर अग्रगामी परिवर्तनको यात्रालाई निरन्तर अघि बढाउने बताए। साथै, पार्टीलाई थप सशक्त र संगठित बनाउँदै जनविश्वास अझ मजबुत बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे।