नेतृत्व शैलीमाथि प्रश्न उठाउँदै १२ नेताले छाडे विप्लव माओवादी
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी पार्टीबाट केन्द्रीय सदस्यसहित १२ जनाले पार्टी परित्याग गरेका छन्।

शनिबार उनीहरूले पार्टीभित्र देखिएको आन्तरिक मतभेद, नेतृत्व शैली र संगठनात्मक निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सामूहिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्ने नेताहरूमा केन्द्रीय सदस्यहरू सन्जिव मगर, कमल केसी, जनक राउत, गोपाल भोलन, निशान, कपील भट्ट, दुर्गा तामाङ, धिरज राना, भिमसेन घिमिरे र हेमन्त चौधरी रहेका छन्। त्यस्तै नुवाकोटका पूर्व जिल्ला इन्चार्ज नवीन सुवेदी र सुनसरीका पूर्व जिल्ला सेक्रेटरी रवि गोलेले पनि पार्टी छाडेको जनाइएको छ।
उनीहरूले जारी गरेको जानकारीमा पार्टी नेतृत्वको निर्णय प्रक्रिया, आन्तरिक लोकतन्त्रको अभाव तथा हालै गरिएको कारबाही प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरिएको उल्लेख छ।
विशेषगरी केन्द्रीय सचिवालय सदस्यहरू उमा भुजेल, शिलु सी र चन्द्रबहादुर खड्कालाई गरिएको कारबाहीबारे आपत्ति जनाउँदै उनीहरूले पार्टी विधानअनुसार प्रक्रिया नअपनाइएको आरोप लगाएका छन्।
त्यस्तै अध्यक्ष विप्लवमाथि पद ओगटेर बस्ने प्रवृत्ति देखिएको भन्दै नेतृत्व शैलीप्रति गम्भीर प्रश्न उठाइएको छ।
पार्टीभित्रको यो सामूहिक बहिर्गमनले संगठनात्मक संरचनामा थप अस्थिरता सिर्जना गर्ने विश्लेषण गरिएको छ।



