प्रगतिशील बुद्धिजिवी संघको नेतृत्वमा महादीप पोखरेल
काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल निर्वाचित भएका छन्। बिहीबार काठमाडौँमा सम्पन्न भेलाले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित अध्यक्ष पोखरेलले देशमा सुस्ताउँदै गएको प्रगतिशील बौद्धिक आन्दोलनलाई पुनः सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भू–मण्डलीकृत साम्राज्यवाद, नवउदारवाद तथा वातावरण विनाशका विरुद्ध वैचारिक र बौद्धिक आन्दोलन सञ्चालन गर्दै समाज रूपान्तरणको अभियानलाई बलियो बनाउने उद्देश्यका साथ संघलाई सक्रिय बनाइने बताए।
पोखरेलले प्रगतिशील विचार, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय तथा जनजीविकाका सवालमा बौद्धिक समुदायको हस्तक्षेप आवश्यक रहेको उल्लेख गर्दै बौद्धिक क्षेत्रलाई संगठित गरी नयाँ वैचारिक बहसको वातावरण सिर्जना गरिने बताए।
भेलामा शुभकामना मन्तव्य राख्दै विभिन्न राजनीतिक तथा बौद्धिक क्षेत्रका व्यक्तित्वहरूले वर्तमान समयमा राष्ट्रियता, जनजीविका र सामाजिक रूपान्तरणका मुद्दा चुनौतीपूर्ण बन्दै गइरहेका बेला प्रगतिशील बुद्धिजिवीहरूको साझा मञ्च निर्माण हुनु सकारात्मक कदम भएको बताएका थिए। उनीहरूले कमजोर बन्दै गएको कम्युनिस्ट तथा प्रगतिशील आन्दोलनलाई वैचारिक रूपमा सुदृढ बनाउन संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेकपाका संयोजक लोकनारायण सुवेदी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नेता दीपक चलाउने, सरला रेग्मी, नेकपा नेता नारायणप्रसाद शर्मा, जेनजी अभियन्ता रमेश विक्रान्त तथा वातावरणविद् आशिष जोशीलगायतले शुभकामना मन्तव्य दिएका थिए।
भेलाले संघको उपाध्यक्षमा बद्रीनाथ अधिकारी, तोयाराज अधिकारी, भरत शाह, नवराज उप्रेती, श्यामसुन्दर श्रेष्ठ, सजय पौडेल तथा राजेन्द्र साउदलाई चयन गरेको छ। महासचिवमा परशु कोइराला, सचिवमा आशिष जोशी र कोषाध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन्।
त्यस्तै, महेश पौडेल, बासुदेव नाथ, सुशील भट्टराई, खेम पौडेल, मोहन खतिवडा, रामबहादुर अधिकारी, भोजराज विश्वकर्मा, तेज विश्वकर्मा, भगीरथ घिमिरे, पवन खवास, ध्रुव भण्डारी, अच्युत कट्टेल र भक्त रसाइली केन्द्रीय सदस्यमा चयन भएका छन्।
संघले डा. डीपी पौडेल, रमेश पौडेल, टीका कँडेल तथा निरेन्द्र कुँवरलाई सल्लाहकारमा चयन गरेको जनाएको छ।
नवगठित संघले प्रगतिशील विचार, वैज्ञानिक चेतना, सामाजिक न्याय, वातावरण संरक्षण तथा जनपक्षीय रूपान्तरणका पक्षमा बौद्धिक बहस र आन्दोलनलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

