जङ्गली हात्तीको आतंक रोक्न झापामा ‘स्पेसल टास्क फोर्स’

झापा । जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षा गर्न झापामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि यससम्बन्धी प्रक्रिया अघि बढाइएको जनाइएको छ।

file photo

झापा निर्वाचन क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीका अनुसार सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको छ। अब प्रमुख जिल्ला अधिकारीको समन्वयमा विशेष टोली परिचालन गरिनेछ।

गत साता मेचीनगर–४ मा ६२ वर्षीया पद्मा पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासीले सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न माग गर्दै आएका छन्। उक्त घटनापछि सांसद डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले संसद्मा समेत जङ्गली हात्ती नियन्त्रण तथा नागरिकको जीउधन सुरक्षाका लागि ठोस योजना ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रस्तावित ‘स्पेसल टास्क फोर्स’मा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सशस्त्र वन रक्षकलाई समावेश गरिने योजना रहेको छ। टोलीलाई विशेषगरी हात्ती प्रवेश गर्ने मुख्य नाका मानिने बाहुनडाँगी क्षेत्रमा परिचालन गरिने बताइएको छ। उक्त क्षेत्रबाट भारतको आसाम र पश्चिम बंगालतर्फबाट जङ्गली हात्तीका बथान नेपाल प्रवेश गर्ने गरेका छन्।

हाल कति सुरक्षाकर्मी परिचालन गरिने भन्ने अन्तिम निर्णय भइनसकेको भए पनि कम्तीमा ५० जना सुरक्षाकर्मी माग गरिएको छ। सुरुवाती चरणमा तालिमप्राप्त १० जनाको विशेष टोली परिचालन गर्ने सुझाव आएको सांसद डाँगीले बताएकी छन्।

सरकारको यस निर्णयप्रति स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार हात्ती धपाउने कार्य मात्र पर्याप्त नभई सीमावर्ती क्षेत्रबाट हुने हात्तीको प्रवेश नियन्त्रणका लागि दीर्घकालीन र प्रभावकारी रणनीति आवश्यक छ।

वर्षौंदेखि हात्ती–मानव द्वन्द्वको समस्याबाट प्रभावित बाहुनडाँगी र आसपासका बस्तीमा ‘स्पेसल टास्क फोर्स’ परिचालनको तयारीसँगै स्थानीयवासीमा सुरक्षा र राहतको अपेक्षा बढेको छ।