काठमाडौंमा चिनियाँ फिल्मको बाढी, १४ सय दर्शकको चासो

काठमाडौं — राजधानी काठमाडौंमा आयोजित चिनियाँ चलचित्र प्रदर्शन कार्यक्रमले दर्शकको उल्लेखनीय चासो पाएको छ। बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत ‘तियानतान अवार्ड प्यानोरामा’ नामक कार्यक्रम तीन दिनसम्म ठमेलस्थित छाया सेन्टरमा सम्पन्न भएको हो।

कार्यक्रममा उत्कृष्ट तथा प्रतिस्पर्धामा रहेका ६ चिनियाँ चलचित्र प्रदर्शन गरिएको थियो। आयोजकका अनुसार तीन दिनमा सञ्चालन भएका ९ वटा शोमार्फत करिब १ हजार ४ सय दर्शकले चलचित्र अवलोकन गरेका छन्।

कार्यक्रम चीन चलचित्र प्रशासन, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिको सचिवालय र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान (एनएफसिए) को सहकार्यमा आयोजना गरिएको हो। नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र, काठमाडौं विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयका कन्फ्युसियस इन्स्टिच्युटहरूले पनि सहयोग गरेका थिए।

आयोजकले यस्ता कार्यक्रमले नेपाल–चीन सांस्कृतिक सम्बन्ध मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। दर्शकले पनि चिनियाँ चलचित्रलाई नेपालमा नियमित र व्यावसायिक रूपमा प्रदर्शन गर्नुपर्ने सुझाव दिएका छन्।

कार्यक्रममा ‘ट्र्याप्ड’, ‘बियोन्ड द स्काइज’, ‘समर डायरी’, ‘द स्याडोलेस टावर’, ‘जर्नी टु द वेस्ट’ र ‘लस्ट इन द स्टार्स’ लगायतका चलचित्र प्रदर्शन गरिएको थियो। विविध विषयवस्तु र शैलीका यी चलचित्रले नेपाली दर्शकलाई आकर्षित गरेको आयोजकको भनाइ छ।