बालेनको ‘देश बनाउने टोली’मा को–को ? पोस्टपछि सुरु भयो बहस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार सामाजिक सञ्जालमा गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँगको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ लेखेपछि त्यसले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ।

फेसबुक र एक्समा साझा गरिएको तस्बिरमा शाहले दुवै मन्त्रीलाई अँगालो हालेको देखिन्छ। तस्बिरसँगै उनले ‘PM, HM & IM’ लेख्दै तल ‘Desh Banaune Team’ उल्लेख गरेका छन्। पोस्टमा हाँसेको इमोजीसमेत प्रयोग गरिएको छ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले यसलाई प्रधानमन्त्री र उनका विश्वासपात्र मन्त्रीबीचको आत्मीयता तथा कार्यसम्पादनमा केन्द्रित टोलीको प्रतीकका रूपमा व्याख्या गरेका छन्। तर केहीले भने ‘देश बनाउने टोली’ भन्ने अभिव्यक्तिले सरकारका अन्य मन्त्री, सत्तारुढ दलका नेता तथा सांसदहरूको भूमिकामाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्।

पोस्ट सार्वजनिक भएलगत्तै ‘देश बनाउने टोलीमा आखिर को–को छन् ?’ भन्ने प्रश्न सामाजिक सञ्जालमा उठ्न थालेको छ। केही प्रयोगकर्ताले यसलाई सामान्य ठट्टा वा हल्का शैलीको अभिव्यक्ति भनेका छन् भने अन्यले यसमा राजनीतिक सन्देश खोज्ने प्रयास गरेका छन्।

प्रधानमन्त्री शाह पछिल्लो समय आफ्ना गतिविधि तथा विचारहरू सामाजिक सञ्जालमार्फत नियमित रूपमा सार्वजनिक गर्दै आएका छन्। यसअघि पनि उनका केही पोस्टहरू चर्चा र बहसका विषय बनेका थिए।

यद्यपि, ‘देश बनाउने टोली’ भन्ने अभिव्यक्तिको आशयबारे प्रधानमन्त्री शाहले कुनै थप स्पष्टीकरण दिएका छैनन्। त्यसैले पोस्टको अर्थ र सन्देशबारे विभिन्न अनुमान र व्याख्या जारी रहेका छन्।