मोबाइल फुटाएर होइन, शिक्षा सुधार गरेर समस्या समाधान गरियोस् : आयुष घिमिरे

काठमाडौं । अखिल (क्रान्तिकारी) ले सिरहा जिल्लामा एसईई तथा कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीहरूबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्टवाचहरू नष्ट गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

संगठनको मधेश प्रदेश समितिले उक्त घटनालाई दमनकारी, निरंकुश तथा जनअधिकार विरोधी कार्यको संज्ञा दिँदै दोषीमाथि कारबाही र पीडित विद्यार्थीलाई क्षतिपूर्तिको माग गरेको छ ।

समितिका प्रदेश संयोजक आयुष घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको संलग्नतामा विद्यार्थीहरूका मोबाइल फोन तथा स्मार्टवाच योजनाबद्ध रूपमा नष्ट गरिएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा राज्यले आफ्नो असफलता र अक्षमतालाई ढाकछोप गर्न विद्यार्थीहरूमाथि प्रतिशोधपूर्ण व्यवहार प्रदर्शन गरेको उल्लेख गरिएको छ ।
‘परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने नाममा विद्यार्थीहरूलाई अपराधीसरह व्यवहार गर्नु, उनीहरूका व्यक्तिगत सामग्री तथा सम्पत्तिमाथि बर्बरतापूर्ण हस्तक्षेप गर्नु र नष्ट गर्नु राज्य आतंकको ज्वलन्त उदाहरण हो,’ विज्ञप्तिमा भनिएको छ ।

संगठनले उक्त घटनाले प्रशासनिक निरंकुशता, शासकीय दम्भ तथा जनताप्रति राज्य संयन्त्रको गैरजिम्मेवार चरित्रलाई उजागर गरेको दाबी गरेको छ । साथै शिक्षा क्षेत्रमा देखिएको संरचनागत संकट समाधान गर्न नसक्ने शासकहरूले विद्यार्थीका मोबाइल फोन फुटाएर आफ्नो असफलता लुकाउन खोजेको आरोप पनि लगाएको छ ।

साथै संगठनले वर्तमान शिक्षाप्रणाली र परीक्षा प्रणालीमा रहेका गम्भीर समस्या समाधान नगरी सम्पूर्ण दोष विद्यार्थीहरूमाथि थोपर्ने तथा राज्यशक्तिको आडमा आतंक फैलाउने कार्य तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

त्यस्तै मोबाइल तथा स्मार्टवाच नष्ट गर्ने निर्णयमा संलग्न व्यक्ति तथा निकायमाथि निष्पक्ष छानबिन गरी कडा कानुनी कारबाही गर्न, साथै नष्ट गरिएका सामग्रीहरूको वास्तविक मूल्याङ्कनका आधारमा सम्बन्धित विद्यार्थीहरूलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ ।

संयोजक घिमिरेले शिक्षा क्षेत्रका समस्याहरू दमन र दण्डबाट नभई नीतिगत सुधार, गुणस्तरीय शैक्षिक वातावरण र विद्यार्थीमैत्री व्यवस्थाबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तो छ वक्तव्य :