मदिराको नशामा बाबुले गरे छोराको हत्या

दैलेख । दैलेखमा मादक पदार्थ सेवनपछि भएको पारिवारिक विवादले उग्र रूप लिँदा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन्।

जिल्लाको नारायण नगरपालिका–९ सालखर्कमा मंगलबार राति ७० वर्षीय कबिराज थापाले आफ्नै ४५ वर्षीय छोरा यादव थापामाथि धारिलो हतियार (खुर्पा) प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मदिरा सेवनपछि सुरु भएको सामान्य भनाभन आवेगमा आएर झगडामा परिणत भएको थियो। सोही क्रममा बाबुले घरमा रहेको खुर्पाले छोरामाथि प्रहार गरेका हुन्।

गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको थियो। तर अत्यधिक रक्तश्रावका कारण चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले बाबु कबिराज थापालाई नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग गरिएको खुर्पा पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले घटनाबारे आवश्यक मुचुल्का उठाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ।