ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्दिनँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ढल्न र पछारिन सक्ने भए पनि घुँडा नटेक्ने बताएका छन्।

बुधबारदेखि सुरु भएको पार्टीको कार्यशालालाई सम्बोधन गर्दै ओलीले देशप्रतिको प्रेम, राष्ट्रिय स्वाधीनता र जनताको हितका विषयमा आफ्नो अडान नझुक्ने बताए।

“म व्यक्तिगत रूपमा ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्नेवाला छैन। मेरो शिर काटिन सक्छ, तर हात उठाउनेवाला छैन,” उनले भने।

ओलीले आफू ६० वर्षदेखि देश र जनताको पक्षमा संघर्षरत रहेको उल्लेख गर्दै आफ्नो सङ्कल्पमा कुनै कमी नआएको दाबी गरे। राष्ट्रिय स्वाधीनताको सवालमा कुनै सम्झौता नगर्ने र प्रतिक्रियावादी शक्तिका दबाब तथा धम्कीसामु नझुक्ने उनको भनाइ थियो।

देशको सार्वभौमसत्ता, स्वाभिमान र जनहितको रक्षाका लागि अन्तिमसम्म दृढतापूर्वक उभिरहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।