समावेशी उच्च शिक्षाबारे सम्मेलनले बौद्धिक बहस गर्नुपर्छ : उपकुलपति पौडेल

रुकुम पश्चिम । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस मुसिकोट खलंगा बहुमुखी क्याम्पस, रुकुम पश्चिमद्वारा आयोजित बहुविषयक राष्ट्रिय सम्मेलन शुक्रबार मुसिकोटमा भव्य रूपमा उद्घाटन गरिएको छ ।

‘कर्णालीमा शैक्षिक गुणस्तर र समावेशी शिक्षा : उच्च शिक्षण संस्थाको भूमिका’ भन्ने मूल नारासहित आयोजना गरिएको दुईदिने सम्मेलनको उद्घाटन मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति ले भर्चुअल माध्यमबाट गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा. पौडेलले सम्मेलनले समावेशी उच्च शिक्षाबारे गम्भीर र बौद्धिक बहस सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले विपन्न वर्ग तथा समुदायलाई उच्च शिक्षाको मूल प्रवाहमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा सम्मेलन केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले उच्च शिक्षालाई समाज रूपान्तरण, अनुसन्धान प्रवर्द्धन तथा राष्ट्रिय विकाससँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै कर्णाली जस्तो प्रचुर सम्भावना बोकेको क्षेत्रको विकासका लागि विश्वविद्यालय, अनुसन्धानकर्ता र स्थानीय समुदायबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

उपकुलपति पौडेलले विश्वविद्यालय केवल प्रमाणपत्र वितरण गर्ने संस्था मात्र नभई समाजका समस्याको समाधान खोज्ने अनुशासित, निष्ठावान र नवप्रवर्तनमुखी ज्ञान केन्द्र बन्नुपर्नेमा जोड दिनुभयो । साथै, मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत आङ्गिक क्याम्पसको इतिहासमै पहिलोपटक राष्ट्रिय सम्मेलन आयोजना गरेर विश्वविद्यालयको गरिमा बढाएको भन्दै मुसिकोट खलंगा बहुमुखी क्याम्पसको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्र्याजुएट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सहप्रा. डा. दिपकराज अधिकारी, कर्णाली प्रदेश सरकारका पूर्व सचिव तथा पूर्व विद्यार्थी समाज मुसिकोट क्याम्पसका अध्यक्ष भरतकुमार शर्मा लगायतले कर्णाली क्षेत्रको शैक्षिक अवस्था, अनुसन्धानको आवश्यकता, समावेशी विकास तथा स्थानीय सम्भावनाको उपयोगबारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।

उपप्राध्यापक हर्कबहादुर ओलीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहको अध्यक्षता क्याम्पस प्रमुख डम्बरबहादुर खड्काले गर्नुभएको थियो भने सञ्चालन पूर्व क्याम्पस प्रमुख मुकुन्द प्रसाद शर्माले गर्नुभएको थियो ।

सम्मेलन आयोजक समितिका संयोजक तथा पूर्व क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतमका अनुसार सम्मेलनमा शिक्षा तथा शिक्षण पद्धतिगत नवप्रवर्तन, व्यवस्थापन, उद्यमशीलता, आर्थिक विकास, मानविकी तथा सामाजिक विज्ञान एवम् सूचना प्रविधिसम्बन्धी विषयमा विभिन्न अनुसन्धानकर्ताद्वारा कार्यपत्र प्रस्तुत गरिने सूचना अधिकारी शेरबहादुर केसीले दिनुभएको हो ।

उद्घाटन सत्रपछि “उच्च शिक्षाका चुनौती र समाधान” विषयक प्यानल छलफलसमेत आयोजना गरिएको थियो । छलफलमा गोपीराम केसी, मुकुन्दप्रसाद पोखरेल, कमप्रसाद देवकोटा र शिवप्रसाद ओलीले धारणा राख्नुभएको थियो भने मुख्य वक्ताका रूपमा मध्यपश्चिम विश्वविद्यालयका सहप्रा. डा. दिपकराज अधिकारी तथा काठमाडौं विश्वविद्यालयका डा. जीवन खनालले प्रस्तुतीकरण गर्नुभएको थियो ।

विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा विभिन्न स्थानीय सरकार र शैक्षिक संस्थाको सहकार्यमा सञ्चालन भइरहेको सम्मेलनमा देशभरका अनुसन्धानकर्ता तथा विभिन्न क्षेत्रका विज्ञहरूको भौतिक तथा भर्चुअल सहभागिता रहेको छ । सम्मेलनले कर्णाली क्षेत्रको प्राज्ञिक बहसलाई राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।