प्रकासित मिति : २०८३ जेष्ठ ११, सोमबार ०९:०४प्रकासित समय : ०९:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र असन्तुष्टि बढिरहेका बेला पार्टी पुनर्गठन र निर्वाचन समीक्षासम्बन्धी सुझाव तयार पार्न उपाध्यक्ष रामबहादुर थापा बादल को नेतृत्वमा कार्यदल गठन गरिएको छ ।
भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली को निवासमा आइतबार बसेको एमाले सचिवालय बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदललाई सुझावसहितको प्रतिवेदन पेश गर्न एक महिनाको समय दिइएको बताइएको छ ।
शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा अधिकांश नेताहरूले पार्टी पुनर्गठन अपरिहार्य रहेको धारणा राखेका थिए । चुनावी हार, संगठनात्मक कमजोरी र नेतृत्व शैलीबारे नेताहरूले खुला रूपमा असन्तुष्टि व्यक्त गरेका थिए ।
बैठकका क्रममा केही नेताहरूले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न राजीनामा दिनसमेत आग्रह गरेका थिए । पार्टी संकटको नैतिक जिम्मेवारी शीर्ष नेतृत्वले लिनुपर्ने भन्दै पुनर्गठन र पुनर्जागरणका लागि नेतृत्व परिवर्तन आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
लामो समयदेखि ओलीनिकट मानिएका नेताहरूले समेत राजीनामाको माग उठाउन थालेपछि पार्टीभित्र अध्यक्ष ओलीमाथि नैतिक दबाब बढेको बताइएको छ ।
एमालेभित्र पछिल्लो समय देखिएको गुटगत असन्तुष्टि, चुनावी पराजय र संगठनात्मक चुनौतीलाई व्यवस्थापन गर्न बादल नेतृत्वको कार्यदललाई महत्वपूर्ण जिम्मेवारी दिइएको नेताहरूले बताएका छन् ।