सि जिनपिङको ‘ग्लोबल साउथ’ अवधारणामाथि दक्षिण एशियाली विज्ञहरूको मन्थन

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङ ले अघि सारेको ‘ग्लोबल साउथ’ अवधारणा र चीनको शासन प्रणालीबारे काठमाडौंमा दक्षिण एशियाली विज्ञहरूबीच गहन मन्थन भएको छ ।

फ्रेन्ड्स अन क्लाउड ले आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाल, भारत, चीन, भुटान र बंगलादेशका विज्ञहरूले बदलिँदो विश्व शक्ति सन्तुलन, बहुध्रुवीय विश्व व्यवस्था तथा विकासशील राष्ट्रहरूको भूमिकाबारे धारणा राखेका थिए ।

कार्यक्रममा वक्ताहरूले राष्ट्रपति सि जिनपिङले अघि सारेको ‘ग्लोबल साउथ’ अवधारणालाई विकासशील तथा उदाउँदा राष्ट्रहरूको साझा आवाजका रूपमा व्याख्या गरेका थिए । उनीहरूले विश्व शान्ति, साझा विकास र अन्तर्राष्ट्रिय शासन प्रणालीमा सुधार ल्याउन ग्लोबल साउथ राष्ट्रहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

गोष्ठीमा क्लाउडका अध्यक्ष शोभित उप्रेती, अर्थशास्त्री डा. सुदन ओली, कार्यक्रम संयोजक मनिषा श्रेष्ठ, भुटानका पूर्वमन्त्री कर्मा दोर्जी, बंगलादेशका नेता डा. बेलाल होसिन तथा भारतकी विदेश मामिला विज्ञ डा. रेणु राना ले धारणा राखेका थिए ।

वक्ताहरूले विकासशील देशहरूले विश्व शासन प्रणालीमा समान अधिकार र सम्मान पाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले कुनै पनि राष्ट्रलाई विकासको अधिकारबाट वञ्चित गर्न नहुने र सबै देशलाई समान अवसर सुनिश्चित गरिनुपर्ने बताएका थिए ।

कार्यक्रममा चीनले ग्लोबल साउथका देशहरूसँग पूर्वाधार, प्रविधि, विकास र गरिबी न्यूनीकरणका क्षेत्रमा सहकार्य विस्तार गर्न चाहेको सन्देश पनि प्रस्तुत गरिएको थियो । साथै भविष्यको विश्व व्यवस्था बहुध्रुवीय हुने र त्यसमा ग्लोबल साउथ राष्ट्रहरूको प्रभाव अझ बढ्दै जाने निष्कर्ष सहभागीहरूले व्यक्त गरेका थिए ।