यातायात क्षेत्रमा सरकारको आकस्मिक हस्तक्षेप

काठमाडौं । सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा तत्काल रोक लगाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालय तथा स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्म नयाँ सार्वजनिक सवारी दर्ता नगर्न निर्देशन दिएको हो ।

विभागका निर्देशक मणि राम भुसालद्वारा हस्ताक्षरित पत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन प्रभावकारी हुन नसक्दा वायु प्रदूषण, सवारी चाप र ट्राफिक जाम तीव्र बन्दै गएको उल्लेख गरिएको छ । विभागले यही अवस्थालाई नियन्त्रण गर्न आकस्मिक रूपमा नयाँ दर्ता रोक्ने निर्णय गरिएको जनाएको छ ।

इन्धनको बढ्दो मूल्य, सडकको कमजोर अवस्था तथा आवागमनमा देखिएको जटिलतालाई समेत निर्णयको आधार बनाइएको छ । सार्वजनिक हितलाई ध्यानमा राख्दै तत्कालका लागि नयाँ सार्वजनिक सवारी थप्न रोक लगाइएको विभागको भनाइ छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ उपदफा (३) अन्तर्गतको अधिकार प्रयोग गर्दै विभागले पेट्रोलियमबाट चल्ने सार्वजनिक सवारी मात्र होइन, विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक सवारी साधनको नयाँ दर्तासमेत बन्द गर्ने निर्णय गरेको हो ।

विभागले अर्को सूचना जारी नभएसम्म यो व्यवस्था कायम रहने जनाएको छ ।