नेपालगन्जमा रेबिज नियन्त्रण अभियान, सामुदायिक कुकुरलाई खोप र बन्ध्याकरण

नेपालगन्ज । नेपालगन्ज उप-महानगरपालिकाले नगर क्षेत्रभित्र रेबिज रोग नियन्त्रण तथा सामुदायिक कुकुरहरूको व्यवस्थापनका लागि विशेष खोप तथा बन्ध्याकरण अभियान सुरु गरेको छ ।

सामुदायिक कुकुरहरूबाट मानिसमा रेबिज रोग नसरोस्, सडक दुर्घटनाहरू न्यूनीकरण होउन् तथा कुकुरहरूको संख्या व्यवस्थित बनाइयोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उप-महानगरपालिकाले जनाएको छ ।

अभियान अन्तर्गत कुकुरहरूलाई रेबिज विरुद्धको खोप लगाउनुका साथै स्थायी बन्ध्याकरण (स्टेरिलाइजेशन) गरिँदैछ ।

यसपटक नयाँ अभ्यासका रूपमा रातिको समयमा हुने सवारी दुर्घटना कम गर्न सामुदायिक कुकुरहरूलाई ‘रेडियम बेल्ट’ समेत लगाइँदैछ ।

उप-महानगरपालिकाका अनुसार अभियानमार्फत २८१ वटा सामुदायिक कुकुरलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

पशु शाखा, नेपालगन्ज उप–महानगरपालिकाकी अधिकृत लक्ष्मी शाहीले रेबिज रोग नियन्त्रण र सडक सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

‘पशुबाट मानिसमा टोकेर रेबिज रोग नसरोस् र सडक दुर्घटनाहरू न्यूनीकरण होउन् भन्ने उद्देश्यले यो कार्यक्रम चलाएका हौं। यस वर्ष नयाँ प्रयासका रूपमा कुकुरहरूलाई रेडियम बेल्ट पनि लगाइँदैछ,’ उनले भनिन् ।