संविधानले जनताको अपेक्षा पूरा गर्न सकेन : दिनेश शर्मा
काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य दिनेश शर्मा ले वर्तमान संविधानले जनताको अपेक्षा पूरा गर्न नसकेको बताउनुभएको छ ।

केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा काठमाडौंमा आयोजित विरोध कार्यक्रममा धारणा राख्दै उहाँले संविधान निर्माणको क्रममा दलित, महिला, जनजाति, मधेसी, किसान र मजदुरको हित सुनिश्चित हुने अपेक्षा गरिएको भए पनि व्यवहारमा त्यो पूरा हुन नसकेको टिप्पणी गर्नुभयो ।
उहाँका अनुसार २४० वर्षे सामन्ती राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरिए पनि त्यसअनुसार आमूल परिवर्तन हुन नसकेको र उत्पीडित वर्गको जीवनमा अपेक्षित सुधार नआएको बताउनुभयो ।
शर्माले जनताको अधिकार र राष्ट्रिय स्वाधीनताको पक्षमा सबै प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउँदै श्रमिक, किसान र उत्पीडित वर्गको पक्षमा संघर्षलाई अझ सशक्त बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

