गरिबको छातीमाथि डोजर चलाइयो : दिपक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता उदय बहादुर चलाउने ‘दिपक’ ले मुलुकमा बढ्दो महँगी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध संयुक्त आन्दोलनको आवश्यकता औँल्याउँदै जनजीविकाका सवाललाई केन्द्रमा राखेर संघर्ष अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा काठमाडौंमा आयोजित विरोध कार्यक्रममा बोल्दै उहाँले भदौ २३ र २४ गते नेपालमा ठूलो राजनीतिक उथलपुथल भएको उल्लेख गर्दै त्यसपछि जनतामा सुशासन र प्रणालीगत परिवर्तनको अपेक्षा बढेको टिप्पणी गर्नुभयो ।

उहाँका अनुसार त्यस घटनापछि राज्यका प्रमुख अंगहरू यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा सुधारको अपेक्षा गरिएको थियो ।

संसद भवनमा भएको क्षतिसँगै एमसीसी पारितसम्बन्धी दस्तावेजहरू समेत समाप्त भएको जनमानसमा धारणा बनेको उल्लेख गर्दै उहाँले त्यसलाई जनताले प्रणालीगत परिवर्तनको संकेतका रूपमा लिएको बताउनुभयो ।
सर्वोच्च अदालतलगायत न्यायालयहरूमा भएको क्षतिपछि जनताले न्याय प्रणालीमा रहेको किनबेच र विकृति पनि समाप्त भएको जनताले अपेक्षा गरेपनी त्यस त्यसअनुसार सुशासनको युग सुरु नभएको दाबी उहाँले गर्नुभयो ।

उहाँले वर्षौँदेखि गाँस, बास र कपासको समस्या भोगिरहेका सुकुम्बासीहरूले राहत पाउने आशा गरेको तर त्यसको विपरीत उनीहरूमाथि डोजर चलाइएको आरोप लगाउनुभयो । ‘सुकुम्बासीको नाममा हुकुमबासीहरूले जग्गा कब्जा गरेका भए राज्यले अनुसन्धान र कारबाही गर्नुपर्छ, ‘उहाँले भन्नुभयो, ‘तर रोजीरोटीको आशामा नदी किनारमा छाप्रो हालेर बसेका गरिब जनतालाई उठिबास लगाउनु स्वीकार्य हुन सक्दैन ।’

दिपकले वर्तमान सरकारले सुकुम्बासी समस्या समाधानको सट्टा दमनको बाटो रोजेको आरोप लगाउँदै यसले जनआक्रोश अझ बढाउने चेतावनीसमेत दिनुभयो । उहाँले यस्तो अवस्था यथावत् रहे सरकारको दीर्घायुबारे समेत प्रश्न उठ्ने बताउनुभयो ।