बालेन सरकारविरुद्ध काठमाडौंमा क्रान्तिकारी शक्तिको प्रदर्शन

काठमाडौं । सुकुम्बासीहरूमाथि भएको दमन र अत्याचारको विरोधमा केन्द्रीय संयुक्त संघर्ष समितिको आह्वानमा बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।

संयुक्त संघर्ष समितिद्वारा आयोजित प्रदर्शनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल तथा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका नेता–कार्यकर्ता, समर्थक र सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रदर्शनकारीहरूले बिजुलीबजारदेखि माइतीघर मण्डलासम्म र्‍याली निकाल्दै वर्तमान राजनीतिक अवस्था, जनजीविकासँग जोडिएका समस्या तथा सरकारको कार्यशैली प्रति विरोध जनाएका थिए ।

र्‍यालीका क्रममा सहभागीहरूले सुकुम्बासीमाथिको दमन बन्द गर्न, किसानलाई मल-बिउको व्यवस्था गर्न, एमसीसी सम्झौता खारेज गर्न तथा जनताको अधिकार सुनिश्चित गर्न माग गरेका थिए ।

प्रदर्शनमा सुकुम्बासीको पहिचान गरी पुनर्स्थापना गर, कठपुतली सरकार मुर्दाबाद, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, लगायतका नाराहरू लगाइएको थियो ।

संघर्ष समितिले भूमिहीन र सुकुम्बासी समुदायको समस्या समाधान गर्नुको सट्टा राज्यले दमनकारी नीति अवलम्बन गरेको आरोप लगाउँदै जनताको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।