ट्रम्प–सी भेटवार्तामा इरान युद्धदेखि व्यापारसम्मका मुद्दा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरान युद्धसहित विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गर्न बुधबार साँझ चीनको राजधानी बेइजिङ पुग्ने भएका छन् । भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

ह्वाइट हाउसकी प्रमुख उप–प्रेस सचिव अन्ना केलीका अनुसार बिहीबार बिहान औपचारिक स्वागत तथा मुख्य बैठक हुनेछ भने ट्रम्पको भ्रमण शुक्रबार सम्पन्न हुनेछ । अमेरिकाले यसै वर्षको अन्त्यतिर चिनियाँ नेता सीलाई पनि अमेरिका भ्रमणको निम्तो दिने तयारी गरेको बताइएको छ ।
केलीले ट्रम्पको भ्रमणलाई प्रतीकात्मक रूपमा महत्त्वपूर्ण बताउँदै चीनसँगको सम्बन्धलाई ‘सन्तुलित, पारस्परिक र निष्पक्ष’ बनाउने अमेरिकी प्रयासको निरन्तरता भएको उल्लेख गरेकी छन् । यसअघि वर्षको सुरुमै तय गरिएको भ्रमण अमेरिका–इजरायल र इरानबीचको तनावका कारण स्थगित भएको थियो ।
अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार वार्तामा इरानको तेल व्यापार, सैन्य तथा दोहोरो प्रयोगमा आउने सामग्रीको खरिद–बिक्रीबारे चीनमाथि दबाब दिन सकिनेछ । गत साता अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले चीनले इरानलाई आर्थिक रूपमा सहयोग गरिरहेको आरोप लगाएका थिए ।
इरानले अमेरिका र इजरायलको आक्रमणको प्रतिक्रियास्वरूप स्ट्रेट अफ होर्मुज बन्द गरेपछि विश्व ऊर्जा आपूर्तिमा असर परेको छ । विशेषगरी पश्चिम एसियाबाट इन्धन आयात गर्ने एसियाली मुलुकहरू बढी प्रभावित भएका छन् ।
चीनले भने युद्ध अन्त्यको पक्षमा रहेको बताउँदै गत साता इरानी विदेशमन्त्री अब्बास अराघ्चीलाई बेइजिङमा स्वागत गरेको थियो । साथै, चीनले इरानमाथि अमेरिकाले लगाएका एकपक्षीय प्रतिबन्धलाई मान्यता दिन अस्वीकार गर्दै आएको छ ।
वार्ताका क्रममा ट्रम्पले रुसलाई चीनले गरिरहेको समर्थन, व्यापार असन्तुलन तथा दुर्लभ खनिज पदार्थको विषय पनि उठाउन सक्ने जनाइएको छ । अमेरिकी प्रतिनिधिमण्डलसँगै बोइङ र केही कृषि कम्पनीका प्रमुख कार्यकारीहरू पनि चीन भ्रमणमा सहभागी हुनेछन् ।
ताइवानको विषयमा भने अमेरिकाको नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट पारिएको छ । चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको भए पनि अमेरिकाले त्यहाँ सुरक्षा र आर्थिक सहयोगलाई निरन्तरता दिँदै आएको छ ।

