ट्राफिक नियम मिचेको भिडियो सार्वजनिक भएपछि सांसद विवादमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की ट्राफिक नियम उल्लंघनको घटनापछि विवादमा तानिएकी छन् ।

ललितपुर–३ बाट निर्वाचित सांसद कार्कीले निषेधित ‘वान–वे’ सडकमा विपरीत दिशाबाट गाडी चलाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक टिप्पणी सुरु भएको हो । घटनाका कारण केही समय सडकमा ट्राफिक जामसमेत भएको बताइएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार सांसदको गाडी गलत दिशाबाट प्रवेश गरेपछि अन्य सवारीसाधन रोकिन पुगेका थिए । घटनास्थलमा उपस्थित केही व्यक्तिले उक्त दृश्य मोबाइलमा कैद गरेका थिए ।

सामान्य नागरिकमाथि कडाइका साथ लागू हुने ट्राफिक नियम जनप्रतिनिधिले नै उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । ‘सुशासन’ र ‘नियमको पालना’लाई प्राथमिकता दिने दाबी गर्ने दलका प्रतिनिधिबाट यस्तो व्यवहार हुनु प्रश्नको विषय बनेको टिप्पणीहरू आएका छन् ।

घटना सार्वजनिक भएपछि सांसद कार्कीले भने आफ्नो गल्ती स्वीकार्दै माफी मागेकी छन् ।