इरान–अमेरिका तनावबीच चीनमा उच्चस्तरीय वार्ता

बेइजिङ — इरान र अमेरिका बीचको बढ्दो तनावबीच इरानका विदेशमन्त्री अब्बास अराघची कूटनीतिक प्रतिनिधिमण्डलसहित चीनको राजधानी बेइजिङ पुगेका छन्। यस भ्रमणलाई अन्तर्राष्ट्रिय कूटनीतिमा महत्वपूर्ण मानिएको छ।

इरानी समाचार एजेन्सीहरू तस्निम र फार्सका अनुसार अराघचीले चीनका विदेशमन्त्रीसँग उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा दुई देशबीचको सम्बन्ध, क्षेत्रीय सुरक्षा अवस्था तथा विश्व राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।

एसोसिएटेड प्रेसका अनुसार अमेरिका र इजरायलसँगको तनावपछि इरानका विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण हो। चीन इरानको प्रमुख व्यापारिक साझेदार र इरानी तेलको मुख्य खरिदकर्ता पनि हो, जसले दुई देशबीचको सम्बन्धलाई रणनीतिक रूपमा महत्वपूर्ण बनाएको छ।

यसैबीच, अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प मे १४ र १५ मा चीन भ्रमण गर्ने तयारीमा रहेका छन्। उनी चिनियाँ राष्ट्रपति सी चिनफिङ सँग भेटवार्ता गर्ने कार्यक्रम छ।

उता, अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले चीनलाई इरानमाथि दबाब बढाउन आग्रह गरेका छन्, विशेषगरी होर्मुज जलमार्ग नियन्त्रणसम्बन्धी विषयलाई लिएर।
विश्लेषकहरूका अनुसार चीन–इरान–अमेरिका बीचको पछिल्लो कूटनीतिक गतिविधिले विश्व शक्ति सन्तुलनमा नयाँ दबाब सिर्जना गरिरहेको छ।