वर्षाले फेरि खोल्यो राज्यको तयारीको पोल : राजमार्ग ठप्प, यात्रु अलपत्र

काठमाडौँ — अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध बनेका छन्। हरेक वर्ष दोहोरिने यस्ता घटनाले राज्यको पूर्वतयारी र सडक व्यवस्थापनमाथि फेरि प्रश्न उठाएको छ।

file photo

प्रहरीका अनुसार काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गका विभिन्न खण्डहरू पूर्णरूपमा अवरुद्ध छन्। नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ घुमाउने र चारसयबेँसी क्षेत्रमा खसेको पहिरोले सडक बन्द भएको हो। साथै, खुर्कोट–नेपालथोक खण्डमा जोखिम उच्च भएकाले सवारी सञ्चालन रोकिएको छ।

त्यसैगरी, इलामको रोङ गाउँपालिका–६ सलकपुरमा बाढीका कारण ङखेप–झापा सडक अवरुद्ध भएको छ। यी सडक अवरुद्ध हुँदा लामो दूरीका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

उता केही स्थानमा भने आंशिक रूपमा यातायात सञ्चालनमा आएको छ। भोजपुर नगरपालिका–५ बोखिममा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ भने ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ मा खसेको पहिरो पन्छाएपछि भित्री सडकमा सवारी सञ्चालन सुचारु गरिएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ इकुमा खसेको पहिरो हटाएपछि अरनिको राजमार्गमा यातायात पुनः सञ्चालनमा आएको छ। यस्तै, म्याग्दीको बेनी–जोमसोम सडक र लमजुङ खण्डको मध्यपहाडी राजमार्गमा भने अझै एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

ललितपुरको बागमती नगरपालिका–३ भालुखोलामा खसेको पहिरो पन्छाएपछि कान्ती लोकपथमा यातायात सुचारु भएको प्रहरीले जनाएको छ।

तर प्रत्येक वर्ष वर्षासँगै दोहोरिने सडक अवरोध र यात्रु सास्तीले पूर्वतयारी र दीर्घकालीन समाधानमाथि गम्भीर प्रश्न उठाइरहेको छ। सम्बन्धित निकायले तत्काल पहिरो पन्छाउने काम गरिरहेको भए पनि स्थायी समाधानतर्फको ध्यान अझै कमजोर देखिन्छ।