राष्ट्रपति पौडेलद्वारा सरकारका सबै अध्यादेश स्वीकृत

काठमाडौं । सरकारले सिफारिस गरेका सबै अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल ले स्वीकृत गरेका छन् । मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि जारी भएसँगै सबै अध्यादेश औपचारिक रूपमा लागू भएका हुन् ।

यसअघि राष्ट्रपति पौडेलले सरकारले पठाएका ७ वटा अध्यादेश जारी गरिसकेका थिए। तर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रारम्भमा पुनर्विचारका लागि फिर्ता गरिएको थियो ।

पछि नेपाल सरकार को मन्त्रिपरिषद् बैठकले सोही अध्यादेश पुनः सिफारिस गरेपछि राष्ट्रपति पौडेलले त्यसलाई पनि स्वीकृति दिएका हुन् ।

यससँगै संवैधानिक परिषद्, केही नेपाल ऐन संशोधन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति, विश्वविद्यालय, सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन), सार्वजनिक खरिद (दोस्रो संशोधन) र सहकारी (पहिलो संशोधन) सम्बन्धी सबै अध्यादेश लागू भएका छन् ।
सरकारले संसद् अधिवेशन स्थगित भएको अवस्थामा अध्यादेश ल्याएको भन्दै राजनीतिक वृत्तमा आलोचना भइरहे पनि अब सबै अध्यादेश कानुनी रूपमा लागू भएका छन् ।