प्रगतिशील स्वरले थबाङ गुञ्जाउने तयारी
काठमाडौँ । प्रगतिशील गीत–सङ्गीतमार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने, सांस्कृतिक एकता सुदृढ गर्ने तथा सिर्जनशील अभिव्यक्तिलाई राष्ट्रिय पहिचानसँग जोड्ने उद्देश्यसहित प्रगतिशील सङ्गीत उत्सव–२०८३ आयोजना गर्न तयारी अन्तिम चरणमा पुगेको छ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान ले रोल्पा कला साहित्य प्रतिष्ठानसँगको सहकार्यमा यही वैशाख १९ र २० गते रोल्पाको थबाङ गाउँपालिकामा उक्त उत्सव आयोजना गर्न लागेको हो।
उत्सवको पहिलो दिन औपचारिक उद्घाटन समारोहसँगै देशभरबाट आएका प्रगतिशील कलाकारहरूको विशेष सांस्कृतिक तथा सङ्गीतिक प्रस्तुति रहनेछ। लोक, आधुनिक तथा प्रगतिशील गीत–सङ्गीतको मिश्रित प्रस्तुति मार्फत कार्यक्रमलाई भव्य बनाइने आयोजकले जनाएको छ।
दोस्रो दिन प्रगतिशील सङ्गीतका विविध आयाममा केन्द्रित संवाद, अन्तरक्रिया, कार्यशाला तथा प्यानल छलफल आयोजना गरिनेछ। यस सत्रमा गीत–सङ्गीतको सामाजिक भूमिका, सांस्कृतिक परिवर्तनमा यसको प्रभाव तथा नयाँ पुस्ताको सहभागिताबारे गहन छलफल गरिनेछ।
उत्सवमा देशभरका अग्रज कलाकार, नवोदित प्रतिभा, सांस्कृतिक समूह, शोधकर्ता, विद्यार्थी तथा सञ्चारकर्मीको सहभागिता रहने अपेक्षा गरिएको छ। विशेषगरी महिला, दलित, आदिवासी–जनजाति तथा सीमान्तकृत समुदायको सक्रिय सहभागितालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।
ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने रोल्पा जिल्ला को थबाङ गाउँपालिका प्रगतिशील विचार र सांस्कृतिक चेतनाको प्रतीक क्षेत्रका रूपमा परिचित छ। यही कारण यस स्थानलाई उत्सवको केन्द्र बनाइएको बताइएको छ।
आयोजकका अनुसार यस उत्सवले स्थानीय कलाकारको क्षमता विकास, सांस्कृतिक पर्यटन प्रवर्द्धन तथा प्रगतिशील सङ्गीतलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Related Posts
-
महाधिवेशनको लाइन नमानेपछि सिटौला पदमुक्त
काठमाडौं । नेपाली कांग्रेस भित्र नेतृत्व तहमा फेरबदल भएको छ। राष्ट्रिय सभा संसदीय दलको -
आजदेखि विद्यार्थी भर्ना औपचारिक रूपमा सुरु
काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा शुरू हुँदै छ

