स्वदेशमै निर्मित हवाई रक्षा प्रणालीले दुई अमेरिकी विमान खसालिएको इरानको दाबी
तेहरान : इरानको संयुक्त सैन्य कमाण्डले आफ्नो नयाँ, स्वदेशमै निर्मित अत्याधुनिक हवाई रक्षा प्रणाली प्रयोग गरी शुक्रबार दुई अमेरिकी लडाकु विमान खसाएको दाबी गरेको छ।

इरानी सरकारी समाचार एजेन्सी IRNA का अनुसार, दक्षिण–पश्चिमी क्षेत्रको आकाशमा उडिरहेको एउटा एफ–१५ई र त्यसको चालक दल उद्धार गर्न आएको ए–१० वार्थोग विमानलाई इरानी सेनाले खसालेको हो।
इरानी प्रवक्ता इब्राहिम जोल्फागारीले यस घटनालाई अमेरिका र इजरायलका लागि अपमानजनक क्षण भन्दै चेतावनी दिएका छन् कि अब इरानको आकाशमा पूर्ण नियन्त्रण कायम रहनेछ।
अमेरिकी सेन्ट्रल कमाण्डले भने हालसम्म यस घटनाको आधिकारिक पुष्टि गरेको छैन। यद्यपि, दक्षिण इरानमा बेपत्ता भएका अमेरिकी सैनिक अधिकारीको खोजी कार्य जारी छ। खोजीका लागि इरानी अधिकारीहरूले करिब ६६ हजार डलरको पुरस्कार समेत घोषणा गरेका छन्।
अमेरिकी सञ्चार माध्यमका अनुसार उद्धार कार्यमा खटिएको ए–१० विमानका पाइलट सकुशल उद्धार गरिएका छन्।
यसैबीच दुवै पक्षबाट आक्रमणको शृङ्खला रोकिएको छैन। इरानले बुसेहर आणविक ऊर्जा केन्द्र नजिकै इजरायलले चौथो पटक आक्रमण गरेको र एक जनाको मृत्यु भएको जनाएको छ। त्यस्तै, इरानको एक प्रमुख पेट्रोकेमिकल कम्प्लेक्सलाई पनि निशाना बनाइएको छ। जवाफमा इरानले इजरायलमा मिसाइल वर्षा गरेको भिडियोहरू सार्वजनिक भएका छन्।

