तिब्बत मुद्दामा नेपाल फस्ने जोखिम
काठमाडौँ : मोहनविक्रम सिंह ले हालको राजनीतिक अवस्था नेपाललाई तिब्बत विवादमा फसाउने जोखिम बढाएको चेतावनी दिएका छन्।

शनिबार राष्ट्रिय जनमोर्चा द्वारा आयोजना गरिएको ‘निर्वाचनको मूल्याङ्कन तथा नेपालको परराष्ट्र नीतिबीचको अन्तरसम्बन्ध’ कार्यक्रममा उनले वर्तमान सरकार अमेरिकी रणनीतिको प्रभावमा बनेको आरोप लगाए।
सिंहले यस्तो अवस्थाले नेपाल–छिमेकी सम्बन्ध कमजोर पार्ने र दीर्घकालीन रूपमा देशलाई द्वन्द्वतर्फ धकेल्ने खतरा रहेको बताए। उनले अमेरिकाको रणनीतिको उद्देश्य नेपालको भूभाग प्रयोग गरेर चीनको तिब्बत क्षेत्रमा प्रभाव जमाउनु रहेको आशंका व्यक्त गरे।
युक्रेन, गाजा र इरानजस्ता उदाहरण उल्लेख गर्दै, सिंहले नेपाललाई पनि त्यस्तै द्वन्द्वग्रस्त क्षेत्र बनाउने योजनावद्ध प्रयास भइरहेको दाबी गरे। केही मन्त्रीहरू ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडिएको बताउँदै यसले देशको सुरक्षा चुनौती बढाएको उनले बताए।
सिंहले लोकतान्त्रिक अधिकार खुम्चिँदै गएको, विद्यार्थी युनियन, ट्रेड युनियन र प्रेसमाथि नियन्त्रण बढिरहेको, र युवा अमेरिकी प्रचार यन्त्रको प्रभावमा परिरहेको जस्ता चिन्ता व्यक्त गरे।
कार्यक्रममा एनपी साउद, राजन भट्टराई लगायत नेताहरूले पनि समसामयिक राजनीतिक र परराष्ट्र नीतिबारे धारणा राखेका थिए।


