विदेशी विश्वविद्यालयको सम्बन्धनका शिक्षण संस्थाहरूको समकक्षता रोक्न माग
काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भनिएका शिक्षण संस्थाहरूको समकक्षता प्रदान गर्ने कार्य तत्काल रोक्न र उनीहरूको ठगिधन्दामा वैधानिकता दिने सबै प्रक्रिया बन्द गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्र, कीर्तिपुरमा ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा अखिल (क्रान्तिकारी) ले उल्लेख गरेको छ कि विदेशी सम्बन्धनप्राप्त कलेजहरूले आधारभूत शैक्षिक मापदण्ड पूरा नगरेका, पाठ्यक्रम र क्रेडिट प्रणाली त्रिभुवन विश्वविद्यालयसँग मेल नखाने, न्यूनतम प्रवेश योग्यता नपुगेका, परीक्षा मिति र ट्रान्सक्रिप्ट स्पष्ट नभएको जस्ता कमजोरीहरू देखिएका छन् ।
यस्ता अवैधानिक प्रमाणपत्रलाई विश्वविद्यालयले समकक्षता प्रदान गर्दा विद्यार्थीको भविष्यमाथि गम्भीर असर परेको र उच्च शिक्षा प्रणालीमा प्रश्न उठेको संगठनको भनाइ छ । संगठनले विश्वविद्यालयलाई तत्काल सम्बन्धनप्राप्त कलेजहरूको समकक्षता दिने प्रक्रिया रोक्न, वैधानिकता दिने काम बन्द गर्न र विद्यार्थीहितलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
उक्त संगठनले केही समयदेखि विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भनिएका शिक्षण संस्थाहरूको बेथितीको विषयमा निरन्तर आन्दोलन गरिरहेको छ । साथै, संगठनले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ अवैधानिक रहेको र उक्त निर्देशिका अन्तर्गत देशभर सञ्चालन भएका ५९ वटा शिक्षण संस्था अवैधानिक भएको बताउँदै आएको छ ।



