राज्यको बर्बर आतंक र नरसंहारप्रति अखिल (क्रान्तिकारी) बहुमतको भर्त्सना
काठमाडौं । अखिल (क्रान्तिकारी) बहुमतले काठमाण्डौ उपत्यका र देशका अन्य मुख्य सहरहरूमा आयोजित शान्तिपूर्ण जेएन्जे समूहको आन्दोलनमाथि फासिवादी ओली–देउवा सरकारले गोली चलाएर करिब दुई दर्जन निहत्था युवा विद्यार्थीहरूको हत्या र सयौँ घाइते बनाएको घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।

संगठनका केन्द्रीय अध्यक्ष विरेन्द्र शाहले सोमवार जारी गरेको प्रेस वक्तव्यमा मारिएका विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, नेपाल सरकारसँग तिनको निःशुल्क उपचारको तत्काल व्यवस्था गर्न जोडदार माग गरिएको छ।
अखिल (क्रान्तिकारी) बहुमतले चेतावनी दिएको छ कि यस प्रकारको जनतामाथि गरिएको नृशंस दमन तत्काल बन्द नगरे आगामी प्रतिवादका कठोर कदम चाल्न बाध्य हुनेछन्।
वक्तव्यमा जेएन्जे समूहले उठाएका मागहरू—२०४६ सालपछिका राज्यका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन, भ्रष्टाचारको अन्त्य, निःशुल्क शिक्षा र स्वास्थ्यको सुनिश्चितता, स्वदेशमै रोजगारी—जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको उल्लेख गरिएको छ। संगठनका कार्यकर्ताहरूले निरन्तर सडक संघर्ष गर्दै पटक–पटक प्रहरीको लाठीचार्ज र हिरासतको यातना भोग्दै आएको कुरा पनि वक्तव्यमा औँल्याइएको छ।
आजको आन्दोलनले स्पष्ट पारेको छ कि वर्तमान दलाल पुँजीवादी संसदीय सत्ताको अविलम्ब अन्त्य अपरिहार्य छ। त्यसैले अखिल (क्रान्तिकारी) बहुमतले सम्पूर्ण विद्यार्थी, युवा तथा आम जनसमुदायलाई आगामी न्यायपूर्ण विद्रोहका लागि संगठित र एकताबद्ध हुन हार्दिक आह्वान गरेको छ।
अन्त्यमा, जेएन्जे पुस्तालाई कुनै पनि प्रायोजन, भ्रामक प्रचार वा षड्यन्त्रप्रति सचेत रहन र न्यायपूर्ण विद्रोहमा दृढतापूर्वक अघि बढ्न अपिल गरिएको छ।
यस्तो छ वक्तव्य :


