३३ दिनदेखि रिले अनशन : अखिल (क्रान्तिकारी) बहुमतको समर्थन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा शुल्क वृद्धि विरुद्ध विद्यार्थीहरूले सुरु गरेको रिले अनशन ३३ दिन पुगेको छ। उपकुलपति कार्यालय अगाडि जारी यस आन्दोलनले विश्वविद्यालय प्रशासनको उदासीनता र राज्यको दमनकारी व्यवहारलाई उजागर गरेको छ।
सोमबार, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले आन्दोलनलाई औपचारिक रूपमा समर्थन जनाएको छ। त्रि.वि. विशेष प्रदेश संयोजक विरेन्द्र नेपालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–“३३ दिन लामो आन्दोलनलाई बेवास्ता गर्नु विश्वविद्यालयको अनिर्णयको स्पष्ट संकेत हो। विद्यार्थीका जायज मागमाथि राज्यको दमन फासिवादी प्रवृत्तिको परिचायक हो।”
संगठनले तत्काल वार्तामार्फत विद्यार्थीका माग सम्बोधन गर्न र त्रि.वि. पदाधिकारी कार्यालयको काम–कारवाही अवरुद्ध नहुने व्यवस्था मिलाउन सरकार र विश्वविद्यालय प्रशासनसँग आग्रह गरेको छ।
अखिल (क्रान्तिकारी) ले आन्दोलनलाई केवल नैतिक मात्र नभई भौतिक समर्थन पनि दिइरहेको स्पष्ट पारेको छ। संयोजक नेपालीले चेतावनी दिएका छन्–“विद्यार्थीको आवाज दबाउन खोज्नु सरकारको पतनको संकेत मात्र हुनेछ। विद्यार्थी संघर्ष राष्ट्र र विश्वविद्यालयको भविष्यसँग प्रत्यक्ष सम्बन्धित छ।”
संगठनले जोड दिएको छ कि विश्वका अनेक मुलुकमा दमनले कहिल्यै आन्दोलन रोक्न सकेको छैन। यसैले विद्यार्थीहरूको जायज माग र अधिकारको रक्षा गर्न उनीहरूको समर्थन निरन्तर रहनेछ ।
अखिल (क्रान्तिकारी) बहुमतले सबैमा विश्वास दिलाएको छ कि अबको आन्दोलन अझ सशक्त र निर्णायक रूपमा अघि बढ्नेछ ।
यस्तो छ वक्तव्य :