१० औँ राष्ट्रिय खेलकुद अनिश्चित : घोषित मितिमा नहुने पक्का !

सुर्खेत , कर्णाली प्रदेशमा हुने भनिएको १० औं राष्ट्रिय खेलकुद तोकिएको मितिमा नहुने निश्चित भएको छ ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी चैत्रमा हुने भनिएको १० औँ राष्ट्रिय खेलकुद चैत्रमा नहुने  भएको हो ।

१० औं राष्ट्रिय खेलकुदका लागि सुर्खेतको वीरेन्द्रनगरमा बनाइएको कर्णाली रंगशाला । फाइल तस्बिर

यसअघि मङ्सिरमा हुने भनिएको प्रतियोगिता आवश्यक तयारी नपुगेको भन्दै चैत्रमा (२३–३०) हुने गरी दोस्रो पटक मिति तय गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष समेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा मङ्सिर तेस्रो सातातिर बसेको ११८ औँ बोर्ड बैठकले उक्त निर्णय गरेको थियो । तर राखेप र खेलकुदमन्त्री चौधरीले प्रतियोगिताका लागि गर्नुपर्ने आवश्यक तयारीमा ध्यान नदिँदा प्रतियोगिता दोस्रो पटक पनि तोकिएको मितिमा नहुने भएको हो ।

राखेपका अध्यक्ष तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि अब चैत्रमा प्रतियोगिता नहुने बताए । मन्त्री चौधरीले जेठसम्म हुनसक्ने आकलन गरे । उनका अनुसार शुक्रबारको छलफलमा मितिको विषयमा सामान्य छलफल भएको छ ।

‘पुनः कहिले समय तोक्ने भन्ने टुङ्गो भने लागेको छैन, प्रधानमन्त्रीसँग सल्लाह गरेर मोटामोटी कहिले गर्न सकिन्छ भन्ने होला,’ चौधरी भन्छन् । कक्षा १२ को परीक्षालाई मध्यनजर गर्दै तेस्रो पटक मिति तय गरिने उनले बताए । ‘छलफलमा वैशाखको अन्तिम साता वा पहिलो साताबाट गर्ने भन्ने विषयमा छलफल भयो,’ उनले भने, ‘निर्णय हुन बाँकी छ ।’ त्यसका लागि एक्लै मन्त्रीले गर्न नसक्ने र बोर्ड बैठक बस्नुपर्ने उनले बताए ।